दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

  • नेपाल अहिले
  • चैत्र ३०, २०८०
दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

काठमाडौँ ।  सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सिफारिस समिति गठन गरिएको उनले जानकारी दिइन्।

सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका सदस्य, मानवअधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधिविज्ञान विज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वविद्, शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ ।

बैठकले संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media