पोखरामा एथरका नयाँ विद्युतीय स्कुटर: मूल्य कम, वारेन्टी र रेन्ज बढी

  • नेपाल अहिले
  • चैत्र १६, २०८१
पोखरामा एथरका नयाँ विद्युतीय स्कुटर: मूल्य कम, वारेन्टी र रेन्ज बढी

पोखरा । भारतीय चर्चित विद्युतीय स्कुटर ब्रान्ड एथरले आफ्नो पछिल्लो स्कुटरलाई परिस्कृत गर्दै नयाँ फिचरसहित नेपालमा पहिलेको भन्दा सस्तो मूल्यमा सार्वजनिक गरेको छ ।

एथरले आफ्नो सफल ‘४५० एक्स’ मोडेल स्कुटर २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री भेरियन्टमा फिचर र  रेन्ज बढाउदै वारेन्टी  थप गरी तीन लाख ६४ हजार ९९९ र तीन लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको छ । त्यसै गरी कम्पनीले २.९ किलोवाट आवर ब्याट्रीको ४५० एस मोडललाई तीन लाख २४ हजार ९९९ मूल्य कायम गरेको छ ।

एथरका यी तीन वटै मोडेल पोखरामा उपलब्ध भइसकेको यस क्षेत्रको आधिकारिक डिलर अटोवेज प्रालिका प्रबन्ध निर्देशक सन्ध्या पौडेलले जानकारी दिइन । नेपालमा शनिबार सार्वजनिक भएका स्कुटरलाई आज आइतबार पोखराको अमरसिंह चौरमा जारी वाडा अटो शो मा सार्वजनिक गर्दै बिक्री शुरु गर्न लागिएको निर्देशक पौडेलले बताइन ।

‘हामीले आज दिउसो ३ बजे पोखराको अमरसिंह चौरमा जारी अटो शो मा स्कुटर सार्वजनिक गर्दै बिक्री प्रारम्भ गर्दै छौँ,’ निर्देशक पौडेलले भनिन, ‘ब्रान्डेड विद्युतीय स्कुटरका पारखीहरूले आएर बुझेर खरिद गर्न सक्नुहुनेछ ।’ आज अटो शो मा सार्वजनिक भए पश्चात् नयाँबजारस्थित अटोवेजको भवनमा रहेको एथरको एक्सपिरियन्स सेन्टरबाट बाट नियमित रूपमा स्कुटरहरू खरिद गर्न सकिने उनले बताइन ।

एथरका नयाँ स्कुटरमा १६१ किलोमिटरसम्मको रेन्ज सर्टिफाई भएको र १३० किमि ग्यारेन्टी गरिएको एरिया सेल्स म्यानेजर सुरेस जिसीले जानकारी दिए । कम्पनीले एथरको स्कुटरमा ८ वर्ष र ८० हजार किलोमिटरसम्मको वारेन्टी दिएको सुरेसले बताए । सुरेसका अनुसार यी दुवै मध्ये कुनै पनि सीमा भित्र ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा तल झरेको खण्डमा नयाँ ब्याट्री नै उपलब्ध गराइने छ ।

यस अघि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी रहेकोमा त्यसलाई बढाइएको र कम्पनीले पहिलेको स्कुटरको मूल्यमा ४० हजार रुपैयाँसम्म सस्तो गराएर नयाँ फिचर सहित उपलब्ध गराएको उनले बताए । नयाँ फिचर थप भएको एथर ४५० एक्स ३.७ किलोवाट भेरियन्टको ४ लाख ३९ हजार ९ सय ९९, २.९ किलोवाट भेरियन्टको मूल्य ३ लाख ९९ हजार ९ सय ९९ र एथर ४५० एस २.९ किलोवाट भेरियन्टको मूल्य ३ लाख ४९ हजार ९ सय ९९ रहेकोमा सबैको मूल्य घटेको सुरेसले बताए ।

पुरानो मोडल एथर ४५० एक्स स्कुटरको २.९ किलोवाट भेरियन्टको रेन्ज ८५ किलोमिटर र ३.७ किलोवाट भेरियन्टको रेन्ज १०५ किलोमिटर रहेकोमा २०२५ भेरियन्ट ४५० एक्स २.९ किलोवाट भेरियन्टको १०५ किलोमिटर र ३.७ किलोवाट भेरियन्टको रेन्ज १३० किलोमिटर पाउन सकिने उनको भनाई छ ।

एथरलाई पोखरा लगायत गण्डकी क्षेत्रका ग्राहक वर्गले अत्यन्त रुचाएको र आफूहरूले छोटो समयमा सयौँ सन्तुष्ट ग्राहक बटुल्न सफल भएको सुरेसले बताए । एथरका स्कुटरहरू अफरोडमा पनि उतिकै हिसाबले चल्ने दाबी गर्दै उनले ताङतिङ, सिरुवारी र धम्पुसमा एथरका स्कुटरहरू सफल परीक्षण भइसकेको बताए ।

पोखरामा अटोवेज भवन र लेकसाइड गरी दुई ठाउँमा चार्जिङ स्टेसन स्थापित भइसकेको , मुग्लिङ, नौबिसे, चितवन र बुटवलमा पनि चार्जिङ स्टेसन भएकाले जता जाँदा पनि चार्जिङ स्टेसनमा फास्ट चार्ज गर्न सकिने उनले बताए । उनका अनुसार काठमान्डौमा २२ ठाउँमा एथरको चार्जिङ स्टेसन रहेका छन् । चार्जिङ स्टेसनमा ४५ मिनेट मै चार्ज हुने स्कुटर ४ देखि ५ घण्टामा होम चार्जिङबाट घरमै चार्ज गर्न सकिने सुरेसले बताए ।

के छन् थप फिचर ?

नयाँ एथर इलेक्ट्रिक ४५० एक्स मा उत्कृष्ट ग्रिपिङ सुनिश्चित गर्न एमआरएफ टायर प्रयोग गरिएको छ। साथै, यस संस्करणमा नवीनतम “म्याजिक ट्वीस्ट” सुरक्षा सुविधा थप गरिएको छ । म्याजिक ट्वीस्ट एक विशेष ब्रेकिङ प्रविधि हो, जसले स्कुटरको थ्रोटल उल्टो घुमाउँदा ब्रेक लिभर नथिची नै स्कुटर रोक्ने कार्य गर्दछ।

एथर इलेक्ट्रिक स्कुटर अन्यभन्दा विशिष्ट फिचरहरूले भरिपूर्ण भएकाले अत्यधिक प्रभावशाली मानिने कम्पनीको दाबी छ । यसमा रहेको अटो-होल्ड फिचरले स्कुटरलाई स्थिर राख्न मद्दत गर्ने र चालकलाई असन्तुलित हुनबाट जोगाउँछ । साथै, एथर स्कुटरका लागि समर्पित मोबाइल एपसमेत उपलब्ध छ, जसले प्रयोगकर्तालाई थप सुविधाजनक अनुभव प्रदान गर्छ।

यस स्कुटरमा गुगल म्याप, मल्टी-स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलर्ट्स जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्। साथै, फाइन्ड माई स्कुटर, फाइन्ड एथर ग्रिड नियर यु, रियल-टाइम चार्ज स्टेटस, पुश नेभिगेसन, राइड इनसाइट, तथा एथर ट्रिप प्लानरजस्ता थप सुविधाहरूले प्रयोगकर्ताको अनुभवलाई अझ सहज र प्रविधिमैत्री बनाउँछ ।

कम्पनीले एथरका विद्युतीय स्कुटरमा वारेन्टी र रेन्ज अहिलेसम्मकै विद्युतीय स्कुटरमा उच्च रहेको दावा गरेको छ ।

© 2025 All Rights Reserved | Nepal Ahile Media