दयारानीको कलेक्सन साढे २ करोड नाघ्यो

  • राजाराम पौडेल
  • फागुन ८, २०८०
दयारानीको कलेक्सन साढे २ करोड नाघ्यो

पोखरा । गत माघ २६ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म दयारानीले साढे २ करोड भन्दा बढी कलेक्सन गर्न सफल भएको निर्देशक माओत्से गुरुङले जानकारी दिएका छन् । फिल्म प्रदर्शन भइरहेको कारण कलेक्सन अझै बढ्ने उनको भनाइ छ । अन्य ठाउँको तुलनामा निर्देशक गुरुङलाई होमटाउनका दर्शकको भव्य साथ मिलेको छ ।

फिल्ममा दयाहाङ राई, दीया पुन, बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, श्रृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदि कलाकारको अभिनय रहेको छ । कास्कीको याम्जाकोट र पोखरा आसपास गरेर जम्मा २२ दिनमा छायाकंन सकिएको फिल्मले गुरुङ संस्कृति झल्काएको छ । फिल्म हेर्दा दर्शकले गुरुङ गाउँमा नै पुगेको महशुस गर्न पाउँछन् ।

यस अगाडि ९ वटा गुरुङ फिल्म निर्देशन गरिसकेका माओत्सेले मुलधारको नेपाली फिल्मको निर्देशकको रुपमा समेत आफ्नो उपस्थिति बलियो बनाएको संकेत गरेका छन् । हिट फिल्मको सूचिमा दयारानीले स्थान बनाउने देखिएपछि निर्देशक गुरुङ उत्साहित बनेका छन् ।

दयारानी २ समेत बन्ने निश्चित बनेकोले गुरुङलाई अगाडि बढ्न समेत यसले हौसला प्रदान गरेको छ । नेपाली फिल्मी क्षेत्रमा कलाकारको रुपमा माओत्सेको व्यस्तता कायमै छ । अब लेखन तथा निर्देशनमा समेत उनको व्यस्ता थप बढ्ने आशा गर्न सकिन्छ ।

माओत्से गुरुङ फिल्मको ब्यानर तथा बाँसुरी फिल्मकोस्को प्रस्तुतीमा यो फिल्म निर्माण भएको हो । मोहन गुरुङ टिला, न्यू आइटी भेन्चर जापान, किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्य प्रकाश गुरुङले फिल्ममा लगानी गरेका छन् ।

फिल्म नेपालमा मात्र नभएर विदेशमा समेत प्रदर्शनमा आइरहेको छ । विदेशमा फिल्म वितरणको जिम्मा सेभेन सीज इन्टरटेन्मेन्टले पाएको छ ।

हालै युट्युब मार्फत सार्वजनिक गरिएको यो फिल्ममा समावेश  ‘लाइदेऊ छपक्कै’ बोलको गीतले समेत दर्शक श्रोताको माया पाइरहेको छ ।  गीतमा विनोद बानियाँ र मेलिना राईको आवाज सुन्न पाइन्छ । बानियाँको संगीतमा तयार भएको गीतको रचना मन क्षेत्रीले गरेका हुन् । क्षेत्रीका गीत यस अगाडि समेत नेपाली फिल्ममा समावेश गरिएको भएपनि बानियाँको भने फिल्मी क्षेत्रको लागि गायन र संगीत पहिलो पटक हो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media