स्थायी बसोबासको आशमा पहिरोपीडित

  • नेपाल अहिले
  • माघ ९, २०८०
स्थायी बसोबासको आशमा पहिरोपीडित

नवलपुर ।  नवलपुरको हुप्सेकोट गाउँपालिका–५ बाघखोरका पहिरोपीडित अस्थायी शिविरमा बस्दै आएका छन् । पहिरोबाट विस्थापित भएर अस्थायी टेन्ट र टहरामा साढे दुई वर्ष बिताएका उनीहरूको स्थायी बसोबासको कुनै टुङ्गो छैन । अस्थायी शिविरमा रहेकाहरूले स्थायीरुपमा आफ्नो व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने आश मानेका छन् ।

विसं २०७८ साउन १ गते अविरल वर्षासँगै गाउँ नै पहिराको चपेटामा परेपछि सुरक्षाकर्मीको सहयोगमा उनीहरुको उद्धार गरिएको थियो । उद्धारपछि गाउँपालिका–१ जुकेपानीमा रहेको अस्थायी शिविरमा पहिरोपीडितलाई राखिएको छ । “गएको साउनमा दुई वर्ष नाघ्यो, यही शिविरमा तीनवटा पुसको जाडो काट्यौँ”, पीडित देउसिंह सोमैले भने, “उता फर्केर जाने जस्तो छैन, अस्थायी शिविरमा कतिन्जेल रहने टुङ्गो छैन ।”

पहिराबाट पीडित भएकाका लागि एक-एक कोठासहित अस्थायी टहरा निर्माण गरिएको छ । टहरासँगै अस्थायी टेन्ट पनि गाडिएका छन् । “जहान धेरै हुने कोठामा अट्दैनन्, टेन्टमा सुत्छन्”, स्थानीय खगिसरा रानाले भने, “यहाँ रहेकामा एकै घरका दश जनासम्म परिवार छन्, जसोतसो टहरा र टेन्टमा गुजार चलाएका छौँ ।” साढे दुई वर्षअघि पहिराका कारण छाडेको बाघखोरमा कहिलेकाहीँ पुग्ने गरेको रानाले बताए ।

उक्त ठाउँमा धेरैले लगाएको अम्रिसो फुलेकाले उनीहरु त्यही अम्रिसो लिन जाने गरेको उनले बताए । घर भत्किएपछि सबै परिवारका सामान नजिकै रहेको आमा समूहको भवनमा राखेकाले आफूहरू बेलाबेलामा सामान हेर्न जाने गरेको समेत उनले बताएउ । “त्यतिबेला मान्छे मात्रै ज्यान जोगाएर हिँडियो, पछि सबै सामान उतै समूहको घरमा राखेका छौँ, तल झारेको पनि छैन, बेलाबेलामा हेर्न जान्छौँ”, उनले भने, “भएको सामान कता झार्ने, के गर्ने अन्योल रहेकाले आवश्यक अलि अलि सामानले शिविरमा गुजारा चलाएका छौँ ।”

फर्किएर पुनः बाघखोरमा नै बस्ने गरी जाने अवस्था कति पनि नभएको उनले बताए । “एउटै गरा तीन चिरा भएको छ, खेती गर्न मिलेको छैन, उता बस्नेजस्तो पनि छैन”, रानाले भने । यतिका समय अस्थायी टहरामा दिन बितेको र स्थायीरुपमा बास कहाँ हुने आफूहरूको कुनै ठेगान नभएको उनले बताए । स्थायी बासको टुङ्गो सरकारले गरिदिए हुने उनले बताए ।

शिविरमा साँघुरो हुँदा बासकै अप्ठ्यारो धेरै भएको स्थानीय लिमाया सोमैले बताए । जाडो मौसममा चिसो थप समस्या हुने उनले बताए । त्यसबाहेक जङ्गलसँगै अस्थायी शिविर जोडिएको र खुला भएकाले जनावरको पनि डर हुने गरेको उनले बताए । शिविरमा बसेकाहरूले नजिकै रहेको जङ्गल खुल्दा काठ दाउराबाट समेत वञ्चित हुनुपरेको उनले बताए । “जङ्गल खुल्छ, हामी बाहिरको भनेर होला, ल्याउन र उपभोग गर्न पाइँदैन, महँगो ग्यास किन्न पनि त गाह्रो नै छ”, सोमैले भने । शिविरमा रहेकाहरूले कसैले ज्याला मजदुरी, कसैले खेत अधियाँ गरेर गुजारा चलाएको उनले बताए ।

पहिराबाट विस्थापितको व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । उद्धारसँगै अस्थायी शिविरका लागि पालिकाले व्यवस्थापन गरे पनि थप व्यवस्थापन गर्न प्रदेश र सङ्घ सरकारसँग आफूले समन्वय गरिरहेको उनले बताए । स्थायी रुपमा जग्गा दिएर अर्को ठाउँमा व्यवस्थापन गर्ने विषय कतिपय कानूनी प्रक्रिया पुर्‍याउन आवश्यक रहेकाले त्यसका लागि समन्वय भइरहेको उनले बताए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media