नेप्से परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार

  • नेपाल अहिले
  • पौष २३, २०८०
नेप्से परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलब ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलब ४९ को बिन्दुमा कायम भएको छ ।

तीन सय नौ कम्पनीको आज एक करोड ३७ लाख नौ हजार दुई सय ७६ कित्ता शेयर ९९ हजार पाँच सय २४ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय छ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूह तीन दशमलब ७२ र अन्य समूह दुई दशमलब ५७ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो ।

सबैभन्दा बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा पाँच दशमलब ४६ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकमका आधारका आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २१ करोड ८४ लाख ८२ हजार आठ सय ८० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २६ हजार तीन सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media