कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी

  • नेपाल अहिले
  • पौष २२, २०८०
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी

|Bangladesh Prime Minister Sheikh Hasina casts her vote in Dhaka, Bangladesh, Sunday, Jan. 7, 2024. (AP Photo/Altaf Qadri)

ढाका । बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरू भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गर्ने घोषणा गरेका छन् ।

आइतबार बिहान ८ बजेपछि जारी निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्रहरू निर्धारित गरिएको छ । अपरान्ह् ४ बजेसम्म मतदान केन्द्रभित्र लाइनमा पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउनेछन् । यो निर्वाचनका लागि कूल ११ करोड ९६ लाख व्यक्ति मतदान गर्न योग्य रहेका छन् । निर्वाचन आयोगका अनुसार लगभग करिब १२ करोड योग्य मतदाताहरू मध्ये झण्डै आधा महिलाहरू छन् भने पहिलो पटक मतदानका लागि योग्य बनेका मतदाताहरूको सङ्ख्या लगभग एक करोड ५० लाख रहेको छ ।

अल जजिराका अनुसार प्रमुख विपक्षी दल बीएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ ।

बीएनपीले शनिबारदेखि नै हिंसा र प्रदर्शनकारीहरूमाथिको दमनका बीच ‘अवैध सरकार’ विरुद्ध ४८ घण्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ ।

सर्वोच्च अदालतले गत पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो ।

ढाका ट्रिब्यूनको रिपोर्टअनुसार स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सुरक्षा चिन्तालाई उजागर गर्दै बङ्गलादेशभरका निजी अस्पताल र क्लिनिकहरूलाई स्वास्थ्य सेवाहरू सञ्चालन गर्न र शनिबारदेखि बुधबारसम्म आपतकालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्बाचनमा २७ दल र स्वतन्त्रसमेत गरी कूल एक हजार ५०० उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media