पोखरामा प्रथम प्रादेशिक ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुने

  • विमल तिवारी
  • पौष १७, २०८०
पोखरामा प्रथम प्रादेशिक ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुने

पोखरा । “कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन” भन्ने नाराका साथ पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० हुने भएको छ । प्रदर्शनी यही पुस २० देखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने मंगलबार पोखरामा आयाेजित  पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रिकरण प्रवद्धन केन्द्र काठमाडौं, कृषि निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिकरण, औधोगिकरण, तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्धश्यले प्रदर्शनीको आयोजना गरिएको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाईलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका कम्पनीहरूको सहभागिता रहने शर्माले पत्रकार सम्मेलनमा बताए ।

कृषि निर्देशनालय गण्डकीका निर्देशक बासुदेव रेग्मीले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजा, उपकरण, यन्त्र तथा सेवाहरुको वारे कृषकले जानकारी पाउन सक्ने बताए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले प्रदर्शनीले नीति निर्माता, पेशागत समूह, अनुसन्धानकर्ता, कृषक र सरोकारवालालाई एकै ठाउमा भेला गराउने र नेपालको कृषि यान्त्रिकरण मार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषि प्राणालीको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरें ।

कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सब–डिलर, सरकारी एवं गैह्सरकारी संघसंस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षि संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवा प्रदायक, कृषक समूह, सहकारी बैँक तथा वित्तीय संस्थाहरू गरी ६० भन्दा बढी प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ ।

५ करोड भन्दा बढि कारोवार हुने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा ३० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media