सरकारले संघीयता सम्बन्धि कानून तत्काल निर्माण गर्छः नेपाली काँग्रेस

  • नेपाल अहिले
  • पौष १५, २०८०
सरकारले संघीयता सम्बन्धि कानून तत्काल निर्माण गर्छः नेपाली काँग्रेस

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले संघीयताको कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि संघीयतासँग सम्बन्धि संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले संसदमा पारित हुने क्रममा रहेका संघीयता सम्बन्धि ऐनहरु तत्काल पारित गर्न पार्टीले सरकारसँग माग गरेको जानकारी दिए ।

उनले भने, ‘संविधान जारी भएको ८ वर्ष बित्तिसक्दा पनि नयाँ संविधान अनुरुप संघीयताको कार्यान्वयन सम्बन्धि कानूनहरु निर्माण हुन सकिरहेका छैनन् । संविधान कार्यान्वयन तथा प्रदेश सरकारका क्षेत्राधिकारसँग जोडिएका आवश्यक धेरै कानुनहरु अझै बन्न नसक्दा यसले तीन वटै तहका सरकार सञ्चालनमा असहज भएको छ भने नागरिकका मौलिक हक, अधिकारको कार्यान्वयनमा समेत विलम्व भइरहेका छन् ।

यस विषयमा प्रदेश सरकारका तर्फबाट पटकपटक संघीय सरकारसँग माग गर्दै आएकाले संघीयतासँग जाडिएका संघीयता सम्बन्धि संघीय निजामती ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐनजस्ता पारित हुने प्रक्रियामा रहेका अविलम्व पारित गर्न यो बैठक सरकारसँग माग गर्दछ । ’

काँग्रेसले संघीयता कार्यान्वयनमा ढिलाई हुँदा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारले त्यससँग सम्बन्धित कानून निर्माणमा ढिलाई गर्न नहुने निष्कर्ष निकालेको छ ।

बालकुमारी घटनाको छानविनका लागि सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्छ

काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
दुई जना युवाको ज्यान जाने गरी भएको सो घटनालाई गम्भिरतापूर्वक लिई सरकारले त्यसको सत्यतथ्य पत्ता लगाउन सो समिति तत्काल गठन गर्नुपर्ने माग गरिएको विश्वकर्माले बताए ।

सो घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नका लागि पनि न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न पार्टी केन्द्रिय कार्य समिति बैठकले सरकारसँग माग गरेको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । त्यसैगरी बैठकले सो घटनामा परी ज्यान गुमाएकाका परिवारका एक जना सदस्यलाई उचित रोजगारीका व्यवस्था तत्काल गर्नपनि सरकारलाई सचेत गराएको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई भनिएको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसले त्यस्ता घटना आगामी दिन दोहोरिन नदिन विशेष नीति अवलम्वन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media