प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँः काँग्रेस

  • नेपाल अहिले
  • पौष १२, २०८०
प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँः काँग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले गठबन्धनका दलका शिर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने बताए । उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शिर्ष नेताहरूसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पारें ।

उनले भने, ‘मन्त्री हेरफेरको कुरामा प्रधानमन्त्रीज्युको सम्बोधनलाई र पार्टीभित्र मन्त्रीले जवाफ दिनेकुरा, मन्त्रीले आफ्ना विषयवस्तु राख्ने कुरा बाँकी नै छ । तर मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीय प्रणाली हो, प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शिर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्नसक्ने प्रावधानलाई काँग्रेस अवरोध बन्दैन ।’

काँग्रेस केन्द्रिय समितिको बिहीवारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रश्ताव पेस गर्नुभएको बताए । प्रश्तावमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरुमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल शुरु गर्ने काम भएको बताइ । उनले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको बताए ।

आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरुमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराउनुभएको र बाँकी मन्त्रीहरुले शुक्रवारको बैठकमा जानकारी गराउने बताए ।

उनले भने, ‘सभापतिज्युको अनुमतिले महामन्त्री विश्वप्रकाश शर्माले प्रश्ताव पेस गर्नुभयो । आजको बैठकको प्रश्तावमा पार्टीको सांगठनिक गतिविधिका बारेमा एउटा, अहिले यो महासमितिको बैठकको तयारी, तेस्रो विषयमा अहिले हामी मेलमिलाप दिवसको १६ गते कार्यक्रम गर्दैछौँ, त्यो कार्यक्रमको तयारीका बारेमा र पार्टीको पूर्वनिर्धारित कार्यक्रम समुदायमा काँग्रेस भन्ने रहेको थियो, सरकारमा रहेका मन्त्रीहरुले पार्टी केन्द्रिय कार्यसमितिमा आफ्नो आफ्नो मन्त्रालयका कार्य सम्पादन भएका विषयहरू, प्रगतिका विषयलाई पार्टीमा जानकारी गराउनु भयो । राष्ट्रिय सभा, सांगठनिक अरु विषय, विभिन्न गतिविधि लगायतका ५ विषयमा छलफल भएको छ । छलफलमा स्वास्थ्यमन्त्रीले आफ्ना धारणा राखेर जानुभयो ।’ 

उनले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरूले राखेको बताए।

© 2026 All Rights Reserved | Nepal Ahile Media