
काठमाडौं । दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरूको प्रगती सुनेर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन् ।
हवाई जहाज चढाएर काठमाडौंसम्म ती गाई पठाउँदाको रोचक अनुभव सम्झँदै मन्त्री केउनले आफ्नो देश दक्षिण कोरिया नेपाली किसानलाई सहयोग गर्न पाउँदा निकै खुशी भएको लेखेका छन् ।
मन्त्री चुंग ह्वांग–केउनले त्यहाँको लोकप्रिय पत्रिका कोरियन टाइम्सको अनलाई संस्करणमा यसरी सम्झेका छन् त्यो दिन– सन् २०२२ को डिसेम्बरमा कठ्याङरिदो चिसो थियो ।
चिसो मौसममा हामीले १०१ कोरियाली उन्नत जातका गाई नेपाल पठाउनका लागि विमानमा चढायौं । हामी यसरी विदेशमा पहिलो पटक गाईवस्तु पठाउँदै थियौँ । त्यसैले पनि यसको तयारी सजिलो भने थिएन ।
यो परियोजनाको सफलता सुनिश्चित गर्न यहाँका सार्वजनिक र निजी क्षेत्रले कडा परिश्रम गरे । हामीले गाईहरुलाई सुरक्षित रूपमा बोक्नका लागि काठको पिँजराहरू बनाएका थियौं । जुन तिनीहरूको नश्ल र स्वास्थ्य अवस्थाको आधारमा देशभरका फार्महरूबाट चयन गरिएका थिए ।
साथै, एशियाना एयरलाइन्सको सहयोगमा हामीले यात्रुवाहक विमानलाई कार्गोमा परिणत ग¥यौं, जहाँ तापक्रम र आर्द्रताको स्तर नियन्त्रण गर्न सकिन्छ । यी सबै प्रयासका बावजुद, १० महिनाभन्दा कम उमेरका गाईहरु सकुशल नेपाल नपुगुन्जेलसम्म उनीहरुलाई निरन्तर पिन र सुई दिइरहेका थियौं ।
पछि नेपालबाट खबर आयो, ‘आठ घण्टाको उडान र मालवाहक ट्रकमा १० घण्टाको लामो यात्रापछि अन्ततः सबै गाईहरु नेपालको सिन्धुली जिल्लाको एउटा गाउँमा आइपुगेका छन् र सबैको स्वास्थ्य अवस्था ठीक छ ।’ अनि तिनीहरूको सुरक्षाको लागि हामीले गरेका सबै प्रार्थनाहरू चमत्कारित रुपमा सत्य सावित भयो ।
आधा शताब्दी पहिले, कोरिया डेरी व्यवसायमा अविकसित देशहरू मध्ये एक थियो जहाँ गाईले दैनिक औसत १० लिटरभन्दा कम दूध उत्पादन गर्दथे । आजको मितिसम्म आइपुग्दा दैनिक औसत ३२ लिटर दूध उत्पादन गर्दै कोरिया एसियामा सबैभन्दा राम्रो उत्पादकर्ता भएको छ भने विश्वमा छैठौं स्थानमा छ ।
यो उल्लेखनीय विकास कोरियालाई प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समुदायको सहयोगबाट नै सम्भव भएको हो । कोरियाली युद्धपछि यहाँ दुग्ध खेतीको सम्भावना नरहेको भूमि जस्तै बनेको थियो ।
हामीले सन् १९५२ देखि १९७६ सम्म एक विश्वव्यापी गैर–नाफामुखी संस्था हेफर इन्टरनेशनलबाट ९०० वटा गाई र प्राविधिक तालिम पायौं । पछि हामीले गाईको नश्ल विकास गर्न राष्ट्रव्यापी प्रयास जारी राख्यौं । यो अटल प्रयास नै आज उन्नत दुग्ध उद्योगमा परिणत भएको छ ।
नेपाललाई दिइएका उन्नत गाई हामीले विगतमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको सहयोगले पनि हेफर इन्टरनेशनलले बनाएको सहयोगी परियोजना हो । परियोजनालाई सम्भव बनाउन धेरै कोरियालीहरूले स्वेच्छिक रूपमा क्राउडफन्डिङमा सहभागि भएका थिए ।
दुग्ध किसानहरूले आफूले पाल्दै आएका गाईहरु नै दान गरे । अन्तर्राष्ट्रिय समुदायले दिएको गाईबाट दुग्ध व्यवसाय सुरु गरेका पशुपालक कृषकहरू दुध दिने गाई दानमा सामेल भएकाले यस परियोजनाको थप महत्व बढेको छ ।
अब, कोरियाली सरकारले नेपाली दुग्ध उद्योगले कोरियाले चालेको बाटो पछ्याउन सकोस् भन्नका लागि चन्दा बाहेक विभिन्न माध्यमबाट सहयोग गरिरहेको छ । यस वर्षको मार्चमा, हामीले कृत्रिम गर्भाधानका लागि थप उच्च गुणस्तरको प्रजनन गराउन साँढे र डेयरी बुलको वीर्य उपलब्ध गरायौं ।
मे र अक्टोबरमा, हामीले कृत्रिम गर्भाधान, प्रजनन र रोग व्यवस्थापनको क्षेत्रका विज्ञहरू पनि नेपाल पठायौं, जसले स्थानीय किसानहरूको आवश्यकता अनुरूप शिक्षा र तालिम प्रदान गरेको महसुश गरेका छौं ।
भर्खरै, हामीले सिन्धुली पुगेका ३१ गाई गर्भवती भएको खुशीको खबर सुन्यौं । सोही अनुसार आगामी फागुनमा नेपालमा प्रजनन विज्ञ पठाउने योजना छ । यो महत्वपूर्ण नतिजा एकल घटनाको रूपमा समाप्त नहुने सुनिश्चित गर्न हामी नेपालका लागि आधिकारिक विकास सहायता परियोजनाहरू विस्तार गर्न जारी राख्ने योजना पनि बनाएका छौं ।
कोरियाले सन् १९५० को दशकमा कोरियाली युद्धपछि विश्वभरका देशहरूबाट ओडीएलगायत अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्यो । कोरिया विश्वको एक मात्र यस्तो राष्ट्र हो जसले आफूलाई सहायता प्राप्तकर्ताबाट दाता देशमा परिणत गरेको छ ।
हामी अन्य देशहरूसँग उल्लेखनीय विकासको बारेमा हाम्रो अनुभव र ज्ञान साट्न अन्तर्राष्ट्रिय समुदायसँग बलियो एकता निर्माण गर्न खोजिरहेका छौं । कोरिया र नेपालले लामो समयदेखिको विश्वास र मित्रतामा आधारित पारस्परिक र सहयोगी सम्बन्धलाई निरन्तरता दिँदै आएका छन् । म नेपालका जनताको समर्थनको लागि आह्वान गर्न चाहन्छु ताकि दुवै देशले मिलेर काम गरेर थप फलदायी नतिजाहरू सिर्जना गर्न सकून् ।
कोरियाली युद्धले ध्वस्त भएको दक्षिण कोरियाको उल्लेखनीय आर्थिक बृद्धिमा अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोगले प्रेरणादायी शक्तिको रूपमा काम गरेकोले नेपालका सबै जनताले प्रचूर मात्रामा उपभोग गर्न सकून् भनेर १ सय १ कोरियाली उन्नत जातका गाईले नेपालमा चमत्कार ल्याउनेछ भन्नेमा म पूर्ण विस्वस्थ छु ।
