पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू

  • नेपाल अहिले
  • जेष्ठ २५, २०८०
पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू

पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हो । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन तिन प्रतियोगिता हरु सम्पन्न भएको कास्की बास्केबल संघका कार्यसमिति सदस्य विष्णु गुरुङले जानकारी दिएका छन् ।

यस अघि बिहिबार भएको उद्घाटन खेलमा लम्जुङले गोर्खालाई पराजित गरेको छ । लम्जुङले गोर्खालाई ५६–१५ को स्कोरले पराजित गरेको हो । त्यस्तै पहिलो चरणको खेलमा पर्वतले तनहुँलाई ६८–४३ ले पराजित गर्दा म्याग्दीले स्याङजालाई ७३–३० को स्कोरले पाखा लगाएको छ ।

प्रतियोगितामा कास्की, तनहुँ, गोर्खा, लम्जुङ, पर्वत, स्याङजा, म्याग्दी गरी ७ जिल्लाको सहभागिता रहेको छ । अन्तिम समयमा बागलुङले सहभागिता नजनाउँदा बिहिबारको खेलमा कास्कीले वाक ओभर पाएर बिजेता बनेको छ ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका पूर्व यूवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेशका सांसद राजिव गुरुङले एक समारोहकाबीच गरेका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं कास्की बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले दशौं राष्ट्रिय प्रतियोगिताका लागि यस प्रकारका प्रतियोगिताहरुले सहयोग गर्ने बताउँदै यूवा खेलाडी उत्पादनमा समेत प्रभावकारी हुने उल्लेख गरे । कार्यक्रममा संघका कृष्ण गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

यहि जेठ २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद ६० हजार र उपविजेताले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी दुई सेमीफाइनष्टि टिमले जनही नगद १०–१० हजार प्राप्त गर्नेछन् ।

शुक्रबारको खेलमा पर्वत र स्याङजा, म्याग्दी र तनहुँ, कास्की र गोर्खा भिड्नेछन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media