पोखरा, ०९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणनामा बैरागीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’लाई पाँच हजार चार सय ४५ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
बैरागीले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार पाँच सय ३५ मत ल्याउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार एक सय ८० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुबेदीले दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभयो ।
निर्वाचनको मत परिणाम सार्वजनिक हुनासाथ निकटतम प्रतिद्वन्द्वी बरालले नव निर्वाचित प्रतिनिधिसभा सदस्य बैरागीलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ । बराल गण्डकी प्रदेशका अर्थमन्त्री समेत हुनुहुन्छ ।