nepal ahile circle final NEW

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु, ४५ प्रतिशत सेवाग्राहीलाई सहजता

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु, ४५ प्रतिशत सेवाग्राहीलाई सहजता

पोखरा  । गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ ।

स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्दा पहिलो निर्णय गरेका थिए । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक तयारीमा समेत जुटेका छन् । सेवा सुरु गरेको अस्पतालको तथ्यांक हेर्दा यो प्रभावकारी देखिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले निर्णय कार्यान्वयन हुन थालेको बताए । ‘कार्यान्वयनको तहमा हेर्ने हो भने म्याग्दीको बेनी अस्पतालमा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ, लमजुङ अस्पतालमा पनि सञ्चालनमा रहेको छ, मध्यविन्दु अस्पतालमा समेत सञ्चालनमा गएको छ । मैले हिजो मात्र अपडेट लिएको थिए स्याङजा अस्पतालले यहीं आइतबार वा सोमबारबाट सुरु गर्दैछ’ उनले भने ।

अरु धेरैं अस्पतालमा यो सेवा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने भनेर तयारी भइरहेको समेत उनले खुलाए । यो सेवाको कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको लागि मुख्यमन्त्रीबाट स्विकृत भएर स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको समेत उनले जानकारी दिए ।

‘यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि थप जनशक्ति र स्रोत के चाहिन्छ हामीले त्यो आकलन गरिसकका छौं । त्यसको बन्दोवस्तीको लागि माननीय मुख्यमन्त्रीज्यू अहिले हाम्रो विभागीय मन्त्री पनि हुनुहुन्छ उहाँले स्वीकृत गरेर अर्थ मन्त्रालयमा थप स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको छ’ सचिव डा.शर्माले भने ।

उनका अनुसार सेवा सुरु भएका अस्पतालको तथ्यांक अनुसार सेवा थप भएको समयमा सेवा लिनेको संख्या ४५ प्रतिशत रहेको छ ।
‘१० बजेदेखि ५ बजेसम्मको अवस्थामा ५५ प्रतिशत र बिहान र बेलुकाको समयमा ४५ प्रतिशतले सेवा लिएको छ । यसरी हेर्दा थोरै जनशक्ति र स्रोतले यो कार्यक्रम प्रभावकारी भएको छ । बिहान ७ देखि बेलुका ७ को ओपीडीको अवधारणले ४५ प्रतिशत सेवाग्राहीलाई फाइदा देखिएको छ’ उनले थपे ।

यसले टाढा गाउँबाट उपचारको लागि सदरमुकाम झरेका बिरामीको खर्च बचाउनुको सट्टा उनीहरूलाई जिल्ला अस्पतालको सेवा लिनमा सहजता बनेको उनले सुनाए।

‘माननीय मुख्यमन्त्रीज्यूले यो ढोका खोल्नु भएको छ । यो अत्यन्तै अपेक्षित छ, यसबाट के पनि सिकाइ भयो भने बिहान गाउँबाट सदरमुकाममा आउँछन् उनीहरू सदरमुकाम आइपुग्दा बेलुका हुन्छ, अस्पतालको १० देखि ५ को समय टरेको हुन्छ । बेलुका उनीहरू बजारमा आएर स्थानीय स्वास्थ्य क्लिनिक, पोलिक्लनिकहरूमा देखाएर औषधी पोको पारेर जाने अवस्था थियो । उनीहरूलाई अस्पतालको सेवाले समावेश गर्न सकेको थिएन, यो विशेष सिकाइ भएको छ’ उनको भनाइ थियो ।

अब अर्को वर्षको कार्यक्रममा विशेष कार्यक्रमको रुपमा लिएर जाने तयारी मन्त्रालयले गरेको समेत उनले बताए। न्युनतम स्रोत र साधनको सहयोगले पनि विशेष काम गर्न सकिन्छ भन्ने पुष्टि भएकोले यसलाई निरन्तर लैजाने हिसाबले व्यवस्थित गर्ने तयारी भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्