पोखरा, २२ साउन । पोखरामा पछिल्लो समय रकम चोरी गर्ने उद्देश्यले बैंकको एटिएम मेशिन फोड्ने घटना बढेका छन् । पोखरा महानगरमा पछिल्लो एक महिनामा मात्र दुई वटा बैंकका तिन वटा फरक फरक एटिएम मेशिनमा तोडफोड भएको छ । असारको अन्तिमदेखि साउन २० गते सम्म एनआइसी एसिया बैंकका दुई वटा र एनएमबी बैंकको एउटा एटिएम मेशिन फोडेर रकम चोरी भएको हो ।
गत असार ३१ गते राति पोखरा–९ न्यूरोडमा रहेको एनआइसी एसिया बैंकको एटिएम मेशिन फोर्ने रुकुम घर भई पोखराको पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । पैसा चोर्ने नियतले रातको समयमा गैँचीको प्रयोग गरी मेशिन फोर्न खोजेका नरेशलाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो।
त्यस्तै साउन ४ गते पोखरा महानगरपालिका –२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेशिन फोडेर १५ लाख रुपैयाँ चोरी भयो । चोरले मेशिन फोडेर नगद लुटेपछि पैसाको बक्सा अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको अवस्थामा फेला परेको थियो। प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
कास्की प्रहरीले शुक्रबार मात्र एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पर्वत जिल्ला कुश्मा नगरपालिका -३ का २३ वर्षीय कृष्ण बहादुर विकलाई पक्राउ गरेको छ । पोखराको बिरौटास्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फोडी नगद चोरी गरिरहेको अवस्थामा प्रहरीले कृष्णलाई पक्राउ गरेको हो ।
कृष्ण यस अघि पनि माछापुच्छ्रे बैंकको एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पक्राउ परेर थुनामा परेका व्यक्ति हुन् । चोरी उद्योग मुद्दामा कैद सजाय भुक्तानी गरी छुटेका कृष्ण पुनः एटिएम मेशिन फोड्दै गरेको अवस्थामा साउन २० गते पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट एक लाख रुपैयाँ धरौटी जम्मा गर्न नसकेपछि थुनामा पुगेका उनी तोकिएको कैद भुक्तानी गरी छुटेका हुन् ।
कास्की प्रहरीका अनुसार हाल उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।