कोलम्बियामा कैदीबीच झगडा हुँदा ५१ को मृत्यु

  • नेपाल अहिले
  • अषाढ १५, २०७९
कोलम्बियामा कैदीबीच झगडा हुँदा ५१ को मृत्यु

काठमाडौं। पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।

कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया र आसपासका मुलुकका जेलमा घातक दङ्गा हुनु अनौठो होइन ।

सन् २०२० को मार्चमा बोगोटाको पिकोटा पेनिटेनियरीमा भएको दङ्गामा २४ कैदीको ज्यान गएको थियो । उनीहरूले कोभिड–१९ विरूद्ध कारागार प्रशासनले अघि सारेका सुरक्षात्मक उपायको विरोध गर्दा दङ्गा भएको थियो । अघिल्लो वर्ष ब्राजिलको जेलमा भएको घातक दङ्गामा ५० जनाभन्दा बढी मारिएका थिएभने १६ जनाको शिरच्छेदन गरिएको थियो । सन् २०१८ मा भेनेज्वेलाको एउटा कारागारमा अग्निदङ्गा हुँदा कैयौँ हताहत भएका थिए । रासस

© 2026 All Rights Reserved | Nepal Ahile Media