
न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लड्नुभएकाे छ । तर, उहाँलाई कुनै चोटपटक नलागेको बताइन्छ ।
ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठ्नुभएकाे देख्न सकिन्छ । त्यसपछि उहाँले भन्नुभयाे, ‘म राम्रो छु ।’
उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहनु भएकाे थियाे । साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिनु भएकाे थियाे । साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताउनु भयाे ।
उहाँलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए । ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने ।
