nepal ahile circle final NEW

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन्।

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए।

“सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ”, प्रधानमन्त्री प्रचण्डले भने ।

सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताए ।

“यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।”

उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए। नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए ।

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाए

प्रधानमन्त्री  ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको समेत बताए ।

उनले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताए ।

“आयातित इन्धन घटाउँदै विद्युतीय सवारीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टीलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा भएको वृद्धि, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले भारतलगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअपमा प्रगतिलगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निराशाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गरे।

यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गरे।

लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको बताए। नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्