लागुऔषधसहित १० कारोबारी पक्राउ

  • नेपाल अहिले
  • चैत्र २९, २०८०
लागुऔषधसहित १० कारोबारी पक्राउ

काठमाडौँ । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय कारोबारीसमेत छन् ।

विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्यूरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरु पक्राउ परेका हुन् ।

बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौँबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौँ चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उनले बताए। उनीहरु सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ । उनीहरुबाट पनि विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

उनीहरुलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

© 2026 All Rights Reserved | Nepal Ahile Media