nepal ahile circle final NEW

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनीःनेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा  मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरे ।

मुख्यमन्त्री कँडेलको जीवनी

विसं.२०७४ को प्रदेशसभा निर्वाचनमा एमाले प्रदेशसभाको पहिलो पार्टी भए पनि उनी मुख्यमन्त्री बन्न पाएनन् । माओवादी केन्द्रसँग भएको पार्टी एकताका कारण उनले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि समर्थन गर्नु परेको थियो ।

यसपटकको निर्वाचनमा एमाले तेस्रो ठूलो दलमा सीमित भयो र माओवादी ठूलो पार्टी बन्यो । विसं.२०७९ मा पनि केन्द्रमा नेकपा (एमाले) र माओवादी केन्द्रबीचको राष्ट्रिय समीकरण हुँदा कर्णाली प्रदेशमा पाँच वर्ष नै माओवादी केन्द्रलाई नै दिने निर्णय भएपछि कँडेल मुख्यमन्त्री हुन पाएनन्। उक्त निर्णयमा उनले असन्तुष्टि जनाए । फलस्वरुप माओवादी केन्द्र र एमालेबीच पाँच वर्षे कार्यकाल आधा–आधा बाँड्न सहमति भयो ।

सोही सहमतिका आधारमा माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री बने । तर उनी मुख्यमन्त्री भएको ७५ दिनपछि एमालेसँगको समीकरण टुट्यो । माओवादी केन्द्रसँग साढे दुई वर्षपछि मुख्यमन्त्री बन्ने सहमति गरेका कँडेललाई केन्द्रमा छिटो छिटो सत्ता समीकरण परिवर्तन हुँदा एक वर्षमै मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएको हो ।

विसं.२०१८ कात्तिक २५ गते भाइटिकाको दिन दैलेखको गाईबान्ना (हालको गुराँस गाउँपालिका दैलेखको मध्यमवर्गीय परिवारमा जन्मेका कँडेल हाल वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भैरवस्थान निवासी हुन् । बुबा मनिराम र स्वर्गीय आमा भागिरथी कँडेलका माईलो छोरा छन् । उनका एक पत्नी र तीन छोरीहरु छन् ।

मुख्यमन्त्री कँडेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक गरेका छन् । आफ्नो निर्णय र वचनप्रति प्रतिबद्ध कँडेल हक्की स्वभावका मानिन्छन्। प्रष्ट र खरो विचार एवं धारणा प्रकट गर्ने भएकाले उनलाई एमाले पार्टी राजनीतिमा विद्रोही स्वभावले चिन्ने गरिन्छ ।
विसं.२०३६ सालमा सुर्खेतको दशरथपुरमा पञ्चायती शासकविरुद्ध किसान आन्दोलन गरेका कँडेलले त्यसैको प्रेरणाबाट राजनीति जीवनमा सक्रिय भएका थिए । त्यतिबेला उनी हालको शिखर मावि रामघाट सुर्खेतमा शिक्षण पेशामा संलग्न थिए ।

विसं.२०३९–०४३ सालसम्म अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गरेका उनी महेन्द्र बहुमुखी क्याम्पसको प्राकको सदस्य, सचिव, अञ्चल कमिटी सदस्य, अञ्चल कमिटी सचिव हुँदै केन्द्रीय कमिटी सदस्य बनेका थिए।

विसं.२०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाडौँमा नौ महिना जेलजीवन बिताएपछि उनी विसं २०४३ देखि २०४६ सम्म नेकपा (एमाले) काठमाडौँको विद्यार्थी फाँटको काममा सक्रिय कमिटी सदस्य हुँदै कार्यवाहक सचिवसम्म जिम्मेवारी जिम्मेवारी सम्हाले ।

विसं २०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका उनी प्रजातन्त्र स्थापनापछि २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए।

विसं २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा सुर्खेत क्षेत्र नं २ वाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी २०५२ सालमा एमालेको भेरी अञ्चल सचिव भए। उनी २०५४ सालमा पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री बने ।

त्यसैगरी, उनी २०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित एवं प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेता, २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशौँ महाधिवेशनपछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका र हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज हुन् । विसं.२०७९ सालमा सुर्खेत निर्वाचन क्षेत्र नं.२ प्रदेशसभा सदस्य निर्वाचन (क) बाट पुनः कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्