
मङ्गलबारे (इलाम) । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन्।
दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई सहयोग गर्न अपिल समेत गरे।
उनले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरता बढेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउनुको विकल्प नभएको बताए ।
इलामका जनताको खुसी ल्याउन उम्मेदवारीः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले यहाँ हुने उपनिर्वाचनमा उम्मेदवार दिएको बताए । मन्त्री अर्याल उम्मेदवार मिलन लिम्बूको मनोनयनपत्र दर्ताका क्रममा आज इलाम आइपुगेका हुन् ।
उनले इलामको समृद्धि र विकासका लागि पनि युवा उम्मेदवारलाई जिताउन आग्रह गरे । विभिन्न पार्टीका नेताहरूले आफ्नो पार्टीलाई जिताउन आग्रहसहित घरदैलो गरेर जनतासमक्ष मत मागिरहेका छन्।
