nepal ahile circle final NEW

पोखरामा ज्येष्ठ नागरिक मैत्री साँस्कृतिक कार्यक्रम एवम् भजन प्रतियोगिता हुने

पोखरामा ज्येष्ठ नागरिक मैत्री साँस्कृतिक कार्यक्रम एवम् भजन प्रतियोगिता हुने

राजाराम पौडेल, पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीको आयोजनामा विविध साँस्कृतिक कार्यक्रम एवम् भजन प्रतियोगिता हुने भएको छ । आगामी बैशाख १९, २० र २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ज्येष्ठ नागरिक मैत्री कार्यक्रममा कलाकार मनोज गजुरेल, इन्द्रेणी परिवार, सिन्धुली कलाघर सहितका राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती समेत रहने कार्यक्रम संयोजक दुर्गाप्रसाद कोइरालाले जानकारी दिए । कार्यक्रम हेर्नको लागि प्रतिव्यक्ति प्रतिदिन ५ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।

कार्यक्रमलाई भव्य बनाउनका लागि तयारीमा तीव्रता दिइएको ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीका अध्यक्ष भक्तराज श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक स्वास्थ्य सुविधा, मनोरञ्जन, धार्मिक एवम् आध्यात्मिक चिन्तनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने, देश विदेशबाट आउने तीर्थयात्री तथा धर्मालम्बीहरुका निम्ति आवश्यक भौतिक संरचना निर्माण गर्ने, संस्थाको कार्यालय परिसर भित्र भगवान शिव, बुद्ध तथा देवीदेवताको प्रतिमा स्थापना गर्ने, नेपाली लोक भजन कृतनको संरक्षण र सम्बद्र्धन गर्ने पवित्र उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको खुलाए ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल मुल समितिका सदस्य प्राज्ञ प्रजापति पराजुलीले जेष्ठ नागरिक साक्षात् भगवान भएको कारण उनीहरुलाई नै सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएकोले सबैले साथ सर्पोट गर्नुपर्नेमा जोड दिए । पराजुलीले उमेरले ८४ वर्ष पुगेपनि जेष्ठ नागरिकका निम्ति केही गर्नुपर्छ भन्ने हुटहुटीका साथ सक्रिय बनेर संस्थाका अध्यक्ष श्रेष्ठले सबैमा उत्साह थप्ने काम गरेको भन्दै प्रशंसा समेत गरे ।

कार्यक्रम सञ्चालन गर्दा ३५ लाख आम्दानी गर्ने र १२ लाख १० हजार खर्च हुने अनुमान गरिएको संस्थाका महासचिव विष्णुप्रसाद पौडेलले बताए । बचत रकम जेष्ठ नागरिकसँग सम्बन्धीत कार्यक्रममा खर्च गरिनेछ उनको भनाइ थियो । यो कार्यक्रममा हिमाली साँस्कृतिक परिवारले सहकार्य गर्नेछ ।

कार्यक्रमलाई सफल बनाउन अधिवक्ता दुर्गा प्रसाद कोइरालाको संयोजकत्वमा रहेको ज्येष्ठ नागरिक सरोकार समाज नेपालको मुल समिति क्रियाशिल बनेको छ । समितिको सदस्यमा भागवत भाष्कर युवा पण्डित कमल नयन गौतम, प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ प्रजापति पराजुली र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने रहेका छन् ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई ज्येष्ठ नागरिकहरुको हकहितको लागि कार्य गर्दै आएको सामाजिक संस्था हो । संस्थाले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सुविधा, मनोरञ्जन, आध्यात्मिक चिन्तन जस्ता कार्य गर्नुका साथै उनीहरुमा रहेको ज्ञान सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य समेत गर्दै आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्