nepal ahile circle final NEW

प्रधानमन्त्रीसँगको भेटबाट महोत्तरीका जनप्रतिनिधि र उद्यमी उत्साहित

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

महोत्तरी । महोत्तरीका जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्तीनाका भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका जिल्लाका जनप्रतिनिधि र विभिन्न नगरका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि उत्साहित भएका हुन् ।

“हामीले भिठ्ठामोर भन्सारको सुक्खा बन्दरगाह सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ”, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल भन्छन्, “उहाँबाट यसको विज्ञटोलीबाट सम्भाव्यताबारे अध्ययन गरेर काम अघि बढ्ने विश्वास पाएका छौँ ।” जिल्लाका विभिन्न नगरका जनप्रतिनिधि तथा जलेश्वर, मटिहानी, गौशाला र बर्दिबासका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई काठमाडौँमै भेटेर भिट्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

विसं २०२६ मा भिठ्ठामोरमा स्थापित भन्सार कार्यालयको स्तरोन्नति गर्दै तेस्रो मुलुकसँगको आयात–निर्यात सुव्यवस्थित र वृद्धि गर्न सुक्खा बन्दरगाह सहयोगी हुने जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको माग छ । प्रधानमन्त्रीले भिठ्ठामोर नाकाको आवागमन, सुक्खा बन्दरगाह निर्माणका लागि हालसम्म भएका प्रयत्नको अध्ययन र विज्ञहरूबीचको छलफलबाट काम अघि बढाउने बताएपछि आशा जागेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार बताउछन् ।

प्रधानमन्त्रीसँगको भेटमा महोत्तरी–१ र ४ का प्रतिनिधिसभा सदस्यहरू लक्ष्मी महतो कोइरी र महेन्द्रकुमार राय एवं जलेश्वर, मटिहानी, गौशाला र लोहारपट्टी नगरपालिकाका प्रमुख क्रमशः सुरेश साह सोनार, हरिप्रसाद मण्डल, डा दीपेन्द्र महतो र शैलेन्द्र यादवसहित राजनीतिक दलका प्रतिनिधि सम्मिलित थिए । यसैगरी बर्दिबास गौशाला, जलेश्वर र मटिहानी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेटमा सहभागीभएको नगरप्रमुख सोनारले बताए ।

भिठ्ठामोर मधेसका नाकामध्ये वीरगञ्जपछि सबैभन्दा बढी चल्तीको सीमावर्ती नाका हो । तेस्रो मुलुकबाट सामान आयात निर्यात गर्न कोलकाता बन्दरगाहबाट वीरगञ्जभन्दा दूरी कम हुने, मुलुककै झण्डै मध्यभागमा पर्ने हुँदा कम खर्चमा ढुवानी हुने र सबै भेगको पायक पर्ने महोत्तरीका जनप्रतिनिधि र उद्यमीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यसबाहेक भिठ्ठामोर (जलेश्वर) भन्सार कार्यालयको पूर्वाधार र जनशक्ति वीरगञ्जपछि सबैभन्दा राम्रो रहेको अवस्था प्रधानमन्त्रीलाई अवगत गराइएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

भारतको कोलकाताबाट जयनगरसम्म सञ्चालनमा रहेको रेलमार्गसँगै जोडिएर नेपालतर्फ जयनगर–बर्दिबास रेल सेवा विस्तारको काम भइरहेको र बर्दिबासमा रेल्वेले अधिग्रहण गरेको ५२ बिघा क्षेत्रफलको जग्गामा कार्गो व्यवस्थापन सहज सञ्चालन हुने र भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणले यस भेगको उद्योग व्यापार फस्टाउने प्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले पछिल्ला केही वर्षयता कोरोना महामारी र त्यसको असरले बढेको आर्थिक मन्दीबाट राहत दिन बैंकहरूबाट अवधि लम्ब्याउन र थप ऋण प्रवाहका लागि ध्यानाकर्षण गराइएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्