अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

  • नेपाल अहिले
  • चैत्र १४, २०८०
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

काठमाडौँ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए । “हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ”,उनले भने, “यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media