nepal ahile circle final NEW

कास्कीका दुई हलमा चलचित्र पत्रकार संघ कास्कीले राख्यो रिभ्यू बक्स

कास्कीका दुई हलमा चलचित्र पत्रकार संघ कास्कीले राख्यो रिभ्यू बक्स

पोखरा । सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उदघाटन गरेका हुन् ।

नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताए । उनका अनुसार रिभ्यू बक्स राखेर मात्र नहुने यसको संरक्षण र निरन्तरता गर्नुपर्ने आवश्यकता छ । रिभ्यू बक्सको स्थापनाले सिनेमाहलमा सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुने विश्वास उनको छ ।

सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले रिभ्यू बक्स स्थापनाले नेपाली सिनेमाको सम्बद्र्धन र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाले स्थापना गरेको रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । उनका अनुसार चपस कास्कीले राखेको रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चपस कास्की नेपाली सिनेमाको विकास र प्रवद्र्धनका लागि निरन्तर लागिरहेको उल्लेख गरे । फलस्वरुप सिनेमा घरमा रिभ्यू बक्स राखिएको भनाई उनको छ ।

शुक्रबारबाट रिलिज भएको सिनेमा महाजात्रा हेरिसकेपछि पोखराका पत्रकार एवम् दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् । रिभ्यू बक्ससँगै एउटा फर्म उपलब्ध गराइएको छ । जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन् । चिन्हसँगै सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न पाइनेछ । नाम, नम्बर र ठेगाना लेखि बक्समा उक्त कार्ड राख्नुपर्नेछ । एक हप्तामा बक्स खोलेर लक्की ड्र मार्फत दुई जना विजेता घोषणा गर्ने र विजेतालाई पुरस्कृत समेत गरिने चपस कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।

उनका अनुसार पुरस्कारका लागि सिनेमाहलहरु मिडटाउन सिनेमाज र सिनेप्लेक्समा विजेतालाई प्रत्येक हप्ता दुईदुई वटा फिल्म टिकट र पपकन निशुल्क प्रदान गर्नेछ । यस्तै दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ । विजेताबीच पनि प्रतिस्पर्धाका आधारमा मासिक रुपमा एक जनालाई बन्जी नेपालले प्रदान गरेको निशुल्क बन्जी उपहार प्रदान गरिनेछ । रिभ्यू बक्स स्थापनाका लागि परिचयबाट समेत सहयोग प्राप्त भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्