भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँः अध्यक्ष नेपाल

  • नेपाल अहिले
  • चैत्र ३, २०८०
भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँः अध्यक्ष नेपाल

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गरेका हुन्।

“आज प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा हामीले भ्रष्टाचार नियन्त्रण गर्न र बढ्दो बेथितिसँग जुध्न सामूहिक सङ्कल्प गरेका छौँ”,उनले भने, “यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसका लागि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक छ ।”

अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले भने, “जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने सङ्कल्प लिएर अघि बढेका छौँ ।” उनले मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले यहीमार्फत देशलाई समृद्ध बनाउनुपर्ने तर्क गरे।

“देशलाई पश्चगामी दिशातर्फ लैजाने सोच कसैले बनाएको छ भने, त्यो दिवासपना मात्रै हो, अग्रगामीको एकताले मुलुकलाई अग्रदिशातर्फ लम्काइरहेको छ”, उनले भने । वामपन्थी विचारधार मिलेकाले वर्तमान गठबन्धन सरकारमा सामेल भएकोसमेत उनले प्रष्ट्याए । अध्यक्ष नेपालले फरक प्रसङ्गमा अन्य दलसँग आफ्नो पार्टी एकता हुने भ्रम नफैलाउन आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधार, केन्द्रीय सदस्यद्वय टोकबहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा (माओवादी)का जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media