nepal ahile circle final NEW

पर्यटकीय राजधानी घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा, विशेष प्रस्तुति समेत रहने

पर्यटकीय राजधानी घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा, विशेष प्रस्तुति समेत रहने

पोखरा । आइतबारको लागि तय भएको पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, मुल आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरेर दिएको जानकारी अनुसार कार्यक्रमलाई थप आर्कषक बनाउन सम्मान कार्यक्रम र चर्चित कलाकारको विशेष प्रस्तुति समेत राखिएको छ ।

कार्यक्रममा पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. मुकुन्द शरण उपाध्यायलाई सम्मान गरिने भएको मुल समारोह समितिका संयोजक एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाए । यसैगरी भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङ र सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिने आचार्यले बताए ।

कार्यक्रममा वरिष्ठ गायीका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्यान्ड मुख्य भोकलिस्ट विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत र धर्मेन्द्र सेवानको गायन प्रस्तुतिका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कालाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने संयोजक आचार्यको भनाइ छ ।

संयोजक आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसको विकासका लागि पर्यटन पूर्वाधारका साथै ब्राण्डिङ र प्रचारप्रसार महत्वपूर्ण पक्ष भएको बताए ।

विश्व बजारमा पर्यटन क्षेत्रको  प्रवर्द्धनका लागि विभिन्न अभ्यासहरू प्रचलनमा रहेको भन्दै गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका संयुक्त रूपमा यस क्षेत्रमा रहेका अद्धितिय पर्यटकीय गन्तव्यहरूका कारण गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकास मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने दिशामा अगाडी बढेको उनको भनाइ छ ।

‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धन मार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन सहित सुधार, रोजगारी सृजना र गरिबी निवारणमा उल्लेखनीय प्रगति सहित दिगो पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ’ उनले भने ।

नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा पर्ने सुनिश्चितता सहित यो कार्यक्रम गर्न लागिएको उनको दावी छ । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको तथ्याकंलाई केन्द्रीकृत गर्ने योजनाका साथ अगाडि बढाइएको उनले सुनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा फेवातालको किनार बाराहीघाटमा हुने औपचारिक समारोहमा सहभागी बन्न सबैमा आग्रह समेत उनले गरेका छन् । कार्यक्रममा मार्फत प्रधानमन्त्रीले समेत पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासको लागि केही महत्वपूर्ण प्रतिवद्धता जनाउने अपेक्षा गरेकाे समेत आचार्यले बताए ।  बिहान १० बजे बसुन्धरा पार्कबाट सुरु हुने विभिन्न झाँकी सहितको र्‍याली सुरु बाराहीघाटमा पुगेर औपचारिक समारोहमा सहभागी बन्नेछ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र यस वरपरका पालिकाहरू तथा संघसंस्थाको संयुक्त पहलकदमीमा पोखरा पर्यटनको राजधानी घोषणा हुने निश्चित भएको बताइएको छ । २०७५ सालबाट घोषणा गर्ने तयारी सुरु भएपनि केही तयारी सहित अहिले आएर बल्ल घोषणा गर्ने चरणमा पुगेको संयोजक आचार्यले जनाए ।

घोषणा पश्चात यसलाई प्रभावकारी बनाउन गर्नुपर्ने कार्यहरु समेत धेरैं बाँकी नै रहेको भएपनि स्थानीय निकाय, प्रदेश र केन्द्र सरकारको सहयोगबाट बाँकी रहेका कार्य समेत पुरा गर्दै पर्यटकीय राजधानीको रुपमा पोखराको ओज विश्वभर बढाउन सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने समेत उनले खुलाए ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले स्वागत गरेकी थिइन् । पोखरालाई पर्यटकीय राजधानी बनाउनका लागि गर्नुपर्ने पहलका कुराहरुको व्यापक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइन् । स्थानीय सरकार र प्रदेश सरकारबाट गर्नुपर्ने अरु थप काम योजनाबद्ध ढंगबाट अगाडि बढेर जाने क्रममा रहेका खुलाइन् ।

प्रतिवेदन मार्फत आएका सुझाब कार्यान्वयन गर्ने सन्दर्भमा आगामी वर्षदेखिनै योजना कार्यक्रम र बजेटमा समावेश गरेर पूर्वाधार विकास, नयाँ गन्तव्य पहिचान लगायतका कार्यक्रम अगाडि बढ्ने प्रमुख सचिव बस्नेतले बताइन् । प्रदेश सरकारको दोस्रो पञ्चवर्षिय योजना मार्फत योजनाबद्ध ढंगले ती कार्यक्रमलाई अगाडि बढाइने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्