
पोखरा । कास्की जिल्लामा गत फागुन महिनामा मात्र ८० जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी उनीहरूबाट १९ वर्ष २ महिना २८ दिन कैद सजाय र सन्ताउन्न लाख सतसठ्ठी हजार आठ सय पन्चानवब्बे रुपैयाँ जरिवाना असुल हुने जनाइएको छ ।
यसरी पक्राउ पर्नेमा सबैभन्दा धेरैं चेक अनादार मुद्दाका प्रतिवादी रहेका छन् । चेक अनादार मुद्दामा ४१ जना पक्राउ परेकोमा अभद्र व्यवहार मुद्दामा १२ जना, लागूऔषध मुद्दामा ७ जना,चोरी मुद्दामा ४ जना, लेनदेन मुद्दामा ३ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ३ जना पक्राउ परेका हुन्।
यसैगरी बैंकिङ कसुर मुद्दामा २ जना, वालविवाह मुद्दामा २ जना, केही सार्वजनिक अपराध मुद्दामा १ जना, पशुपन्क्षी सम्बन्धी कसुरमा १ जना, जालसाजी मुद्दामा १ जना, परिक्षाको मर्यादा भङग मुद्दामा १ जना, जुवा सम्बन्धी मुद्दामा १ जना र ज्यान सम्बन्धी मुद्दामा १ जना रहेको कास्की प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतको तहसिल शाखामा बुझाइएको छ ।
