प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमाले अध्यक्षको निर्देश

  • नेपाल अहिले
  • फागुन २९, २०८०
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमाले अध्यक्षको निर्देश

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देश गरेका छन् ।

सो पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पुरानो गठबन्धनले देश बर्बाद बनाएकाले सत्तामा जाने हतारो नभई देशको आवश्यकताका आधारमा नयाँ गठबन्धन बनाएको र यसले एक प्रकारको आशा बढाएको बताए । आफूहरुको पहलकदमीमा नयाँ गठबन्धन बनेको स्पष्ट गर्दै यसमा कुनै विदेशी वा छिमेकी मुलुकलाई नजोड्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री ओलीले वामपन्थी पार्टीहरुको अगुवाइमा बनेको नयाँ गठबन्धन टिकाउनु आफूहरुको दायित्व भएको स्पष्ट गरे ।

यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धनको सहमति गरेका थिए । उक्त सहमतिको शृङ्खलामा अहिले नेकपा (एकीकृत समाजवादी) पनि जोडिएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media