nepal ahile circle final NEW

‘महाजात्रा’ले उठाइसक्यो लगानी, नाफाले अर्को फिल्म बनाउने, पोखरामा प्रिमियर सो हुने

‘महाजात्रा’ले उठाइसक्यो लगानी, नाफाले अर्को फिल्म बनाउने, पोखरामा प्रिमियर सो हुने

राजाराम पौडेल, पोखरा । आगामी चैत्र ९ गतेबाट देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’ले लागत खर्च उठाइसेकको दावी गरेको छ । पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले फिल्म बनाउँदाको समयमानै नाफामा गैसकेको बताएका हुन् । फिल्मको लगानीको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले अब अर्को फिल्म बनाउने पैसा जुटाउन बाँकी रहेको सुनाए ।

‘नगदकै हिसाब गर्दा ३ करोड ३८ लाख सकिएको छ, हामी खटेको समेत जोड्ने हो भने त्यो भन्दा धेरैं बढी हुन्छ, किनकी हामीले निकै दुःख मिहेनत गर्नुपर्‍यो, एक वर्ष खट्यौ, सपनामा समेत फिल्मकै बारेमा सोच्यौं, गुनासो त छैन किनकी रोजेको दुःख थियो यो’ उनले अगाडि भने ‘हाम्रो फिल्मको माग नेपालमा र विदेशमा पनि उतिकै छ । हामी फिल्म बनाउँदाखेरी नै नाफामा गैसकेका छौ, ढुक्क छौ । अब दर्शकको माया पाउन र अर्को फिल्म बनाउने पैसा जुटाउन बाँकी छ ।’पत्रकार माझ पोखराको बारेमा तारिफ गरेका उनले फिल्मको भव्य प्रिमियर सो पोखरामा आयोजना गर्ने समेत खुलाए ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले दुःखमा हसाउने खालको फिल्म बनाउने ट्यागलाइन आफूहरुलाई लाउने गरेको भन्दै जात्रा, जात्रै जात्रा हुँदै महाजात्रासम्म आइपुग्दा मनोरञ्जनको साथमा केही सन्देश दर्शकले सिनेमा हेर्दा पाउन् भन्नेमा सचेत भएको बताए । ‘फिल्म हेर्दा मनोरञ्जन हुने नै छ मनोरञ्जनको साथमा फिल्मले दिने सन्देश बोकेर दर्शक हलबाट घर टोलमा पुग्नुहोस् भन्ने सोचेर फिल्म बनाइएको हो’ उनले भने । युवालाई सपना देखाएर शक्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने सन्देश फिल्मले रमाइलो शैलीमा भन्ने उनले खुलाए ।

अभिनेता हरीवंश आचार्यले महाजात्रामा आफुलाई दिएको भूमिकालाई न्याय गर्न भरपुर प्रयास गरेको बताए । ‘अहिले नेपालका नेताको भूमिका जे छ त्यहीं भूमिका हो, यहाँ सरकार खसेको छ, मेरो चाहीँ खसेको छैन, मेरो भूमिका बलियो छ’ रमाइलो शैलीमा उनले भने । फिल्मका निर्देशक भट्टराईको कामको तारिफ गरेका उनले महसञ्चारमा १३–१४ वर्ष सँगै काम गरेका दिनको स्मरण समेत गरे ।

हाँस्य कलाकार राजाराम पौडेलले महाजात्रा फिल्मको ट्रेलर रिलिज भएपश्चात राम्रो प्रतिक्रिया आएकोले सबैजना फिल्म चल्नेमा विश्वस्त भएको सुनाए ।
अभिनेत्री वर्षा राउतले महाजात्रा रमाइलो फिल्म बनेको बताइन् । यो फिल्मलाई लिएर फिल्म छायाकंनदेखिनै उत्साहित बनेको उनको भनाइ थियो । ‘सुटिङ गर्दाखेरी सुटिङमा जाउ, छिटो बोलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, सुटिङ सकिएपछि छिटो रिलिज हुन पाए भन्ने हुन्थ्यो, यस्तो मलाई पहिलोपटक भएको हो’ उनले भनिन् ।

षटकोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् । पुरुषोत्तम प्रधानको छायाकंन र मित्रदेव गुरुङको सम्पादनमा फिल्म तयार भएको हो ।

फिल्ममा हरीवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रविन्द्रसिंह वानिया, प्रकाश घिमिरे, रविन्द्र झा, अरविन खड्का, अर्जुनजंग शाही, गौमाया गुरुङ, दिव्य देव, शिशिर वाङदेल, प्रविन खतिवडा लगायतको अभिनय हेर्न पाइन्छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्