nepal ahile circle final NEW

नमस्ते व्याण्डले महाशिवरात्री विश्वसंगीत महोत्सव काठमाडौँ र पोखरामा आयोजना गर्दै

नमस्ते व्याण्डले महाशिवरात्री विश्वसंगीत महोत्सव काठमाडौँ र पोखरामा आयोजना गर्दै

पोखरा । महाशिवरात्री पर्वको छेको पारेर ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०८०’ आयोजना हुने भएको छ । नमस्ते व्याण्ड (नेपाल- जापान) को ३५ औँ वार्षिकोत्सवको समेत अवसरमा आयोजना हुने कार्यक्रममा नमस्ते व्याण्डका अलावा नेपाल तथा विदेशका चर्चित व्याण्ड तथा कलाकारको प्रस्तुती रहने व्याण्डका संयोजक इश्वर गुरुङले पोखरामा पत्रकार सम्मेलन कार्यक्रम मार्फत जानकारी दिएका छन् ।

काठमाडौँको फरेनहाइट क्लब ठमेलमा फागनु २५ गते शुक्रबार र पोखराको बाराहीघाट मैदान लेकसाइडमा फागुन २६ गते शनिबार महोत्सव आयोजना हुनेछ । कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको आयोजकको भनाई छ ।

नमस्ते व्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १७ औं संस्करण हो । कार्यक्रममा व्याण्डले १ घण्टा भित्रमा आफ्ना नयाँ तथा पुराना गीत सुनाउदै माहोल गर्माउनेछ । साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले कार्यक्रममा थप रौनकता थप्ने दावी गरिएको छ । कार्यक्रममा विभिन्न कलाकारलाई सम्मान समेत गर्ने आयोजकको तयारी छ ।

पोखरामा हुने कार्यक्रम दिउँसो २ बजे डिहिकोपाटनबाट झाँकी र्‍याली सहित सुरु हुनेछ । झाँकी र्‍याली बाराहीघाटमा पुगेपछि सांगीतिक माहोल सुरु हुनेछ । सुरुमा दोहोरी गीत, ठाडो भाका, भजन सहितका कार्यक्रम गरिनेछ । साँझ साढे ६ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यसपछि आतिसबाजी, शिवधुनी सहित नमस्ते व्याण्डको प्रस्तुती रहनेछ । नमस्तेको प्रस्तुती पश्चात अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।

व्याण्ड स्थापना भएको ३५ वर्ष पुगेको बताएको नमस्ते व्याण्डले पछिल्लो समयमा भने नयाँ सांगीतिक कोसेली दर्शक श्रोतामाझ पस्कन सकेको छैन । २ वर्ष अगाडि केही गीत रेकर्ड गरेपनि ती गीत सार्वजनिक भने नभएको व्याण्डका संयोजक इश्वर गुरुङले खुलाए । नेपाली कला, संस्कृति र संगीतको अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको उनले दावी गरे ।

व्याण्डले निरन्तर कार्यक्रम र सा‌ंगीतिक कोसेली पस्कने उनको वाचा छ । दुवै ठाउँमा आयोजना हुने महोत्सवमा दशर्कको व्यापक सहभागीता रहने अपेक्षा उनको छ । ५० को दशकमा पोखराका पप व्याण्डको सक्रियता र चर्चाका कारण नेपाली सा‌ंगीतिक क्षेत्रमा महत्वपूर्ण उपस्थिति रहेको स्मरण गर्दै पुन: पोखराको सा‌ंगीतिक क्षेत्र पुरानै अवस्थामा फर्कन सक्ने आशा थपिएको बताए । नमस्ते व्याण्डले ३५ वर्षको अवधिमा विभिन्न कार्यक्रम र सा‌ंगीतिक कोसेली मार्फत निरन्तर सक्रियता देखाउँदा विभिन्न पुरस्कार, अवार्ड पाएकाे समेत खुलाए ।

चलचित्र पत्रकार स‌ंघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नमस्ते व्याण्डका शिवजी भट्टराईले समते स‌ंगीत महोत्सवको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्