सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौँ: सांसद बेल्वासे

  • नेपाल अहिले
  • फागुन २२, २०८०
सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौँ: सांसद बेल्वासे

काठमाडौँ । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ ।

जनताको निरन्तरको सङ्घर्ष र बलिदानले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था आएको जनाउँदै यसले प्रदान गर्ने अधिकारको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भन्ने उनको मान्यता छ ।

“राष्ट्रियसभामा विधेयकहरू आउने, छलफल गर्ने, अध्ययन गर्ने तरिका विशेष किसिमको छ, कानुन बनाउँदा सबैखाले वर्ग, समुदायलाई हेरेर बनाउनुपर्छ”, नेकपा (माओवादी केन्द्र)का सांसद बेल्वासेले भनिन्, “मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा त्यसलाई कार्यान्वयन हुनेगरी र सबैलाई समेट्नेगरी विधेयक आएको छ कि छैन भनेर अध्ययन गर्छाैँ ।”

“कतिपय विधेयकहरू स्पष्ट नबुझिनेगरी आएको हुन्छ । कतिपय विधेयकको पुनर्लेखन पनि गरिएको छ”, उनले विधेयक निर्माणका सन्दर्भमा भन्नुभयो, “विधेयक निर्माणमा समितिमा धेरै छलफल हुन्छ । छलफल गर्दा ६० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएमा नयाँ विधेयककै रूपमा बनाउँछौँ । विज्ञ, सरकार, सरोकारवालासँग छलफल गरेर मात्र अन्तिम रूप दिन्छौँ ।”

सांसदका रूपमा चार वर्ष काम गर्दा उनमा धेरै कुराको अनुभव भएको छ । “संसद्ले कानुन बनाउँछ तर अधिकांश हामी सदस्यहरू कानुन विषय पढेर आएका होइनौँ । तालिम लिएर, अध्ययन गरेर विधेयक निर्माणमा लागिरहेका हुन्छौँ”, उनले जोडिन् “संविधान र ऐनहरू पढेर आवश्यक तयारी गर्ने गर्छु ।”

सांसद हुनु र संसद् बाहिर रहेर काम गर्दा केही फरक अनुभव उनलाई भएको छ । “संसद्मा आएपछि जनताको समस्या शून्य र विशेष समयमा राख्न पाइन्छ, संसद्मा रहनु र बाहिर रहनुमा केही फरक त छ, संसद्मा रहँदा कानुन बनाउनुपर्ने विषयमा बढी ध्यान दिनुपर्ने हुन्छ”, उनले आफ्नो अनुभव सुनाउँदै भने, “बाहिर रहँदा जनताको विषयवस्तुमा मात्र केन्द्रित भए हुन्छ ।”

“विधायकलाई अध्ययन एकदमै जरुरी छ, सचिवालयले सहयोग गरेर मात्र पुग्दैन, त्यसका लागि आफूले जानेको र स्वअध्ययन गरेको हुन्छ, दलको सचिवालयले पनि सहयोग गर्छ”, सांसद बेल्वासेले भनिन्, “समितिमा पनि केही अप्ठ्यारो परेका विषयहरूका खुलेर छलफल गर्न सकिन्छ । कानुन निर्माणमा पुराना प्रथा, परम्परा सबै हेरेर पनि छलफल गर्छौँ । अहिलेसम्म कुनै पनि विधेयक बहुमत वा अल्पमतले पारित गर्नुपरेको अवस्था छैन, त्यो सम्झिँदा असाध्यै खुसी लाग्छ ।”

“बैठक ठीक समयमा सुरु हुन्छ । कुनै एक दलबाट राजीनामा दिएर आएको भए पनि कुनै दिन पनि राष्ट्रियसभा अध्यक्षले विभेद गरेको महसुस गर्नुपरेको छैन”, बैठक सञ्चालनका बारेमा अनुभव सुनाउँदै उनले भनिन्, “अध्यक्षले निष्पक्ष र हार्दिकतापूर्वक बैठक सञ्चालन गर्नुभयो । कुनै पनि पार्टीलाई असहज भएन, कुनै पक्षपात हुने तरिकाले बैठक सञ्चालन गर्ने र व्यवहार गर्ने गर्नुभएन । बैठकमा खुलेर छलफल गर्ने वातावरण बन्यो । समितिका बैठकमा पनि त्यस्तै हार्दिकता देखियो ।”

“राजनीतिक जीवनमा मैले निकै लामो समय व्यतित गरिसकेकी छु”, सांसद बेल्वासेले विगत सुनाउँदै भनिन्, “मेरा बच्चा पनि यही आन्दोलनमा जन्मिए, हुर्किए । महिला, दलित, पछाडि परेका वर्गसँग सङ्गठन निर्माणमा मैले भूमिका निर्वाह गरेकी छु । सक्रिय भएर काम गर्ने भएकाले पार्टीमा कुनै पनि किसिमको विभेद भोग्नुपरेको छैन ।”

उनी भन्छिन्, “जिम्मेवारीबाट पन्छिन मन लाग्दैन । महिलाको केन्द्रीय नेतृत्वमा २०५२ सालदेखि नै काम गर्दै आएँ, जतिसुकै कठिन परिस्थितिमा पनि मैले पार्टीको काम गर्न छाडिनँ ।”

विसं २०२६ साल पुस ५ गते जन्मिनुभएकी सांसद बेल्वासे चितवन जिल्लाबाट प्रतिनिधित्व गर्छिन । हाल नेकपा (माओवादी केन्द्र) मा सक्रिय बेल्वासे २०४७ सालदेखि (तत्कालीन नेकपा चौथो अधिवेशन) राजनीतिमा होमिएकी थिइन् ।

विसं २०४७ सालमा अखिल नेपाल महिना सङ्घमा सहभागी हुनुभएका बेल्वासे २०४७ सालमै नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)को सदस्य भइन् । विसं २०४८ मा नेकपा (एकता केन्द्र)को घोराही नगर एकता अधिवेशनको प्रतिनिधि र सोही अधिवेशनबाट नगर समिति सदस्यमा निर्वाचित भइन् । विसं २०५० साल फागुनमा सम्पन्न अखिल नेपाल जनवादी युवा लिगको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्य तथा २०५७ सालमा जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित भइन् ।

विसं २०७५ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एकतापछि बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य बनिन् । विसं २०७७ मा नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य भएर काम गरिन् । सांसद बेल्वासेको अनुभव र विज्ञता खासगरी महिला समानताको अभियान, समाजसेवामा रहेको छ । सांसद बेल्वासेको फुटकर लेख र रचनाका कृति पनि प्रकाशन भएका छन् ।

(कालिका खड्काले सांसद गङ्गाकुमारी बेल्वासेसँग गरेको कुराकानीमा आधारित)

© 2026 All Rights Reserved | Nepal Ahile Media