
पोखरा । प्रहरी हुँ भनी धम्की दिँदै हिडेको आरोपमा दुईजना पोखरामा पक्राउ परेका छन् ।
उनीहरूले फागुन १७ गते बिहान साढे २ बजेको समयमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै “हामीहरू प्रहरीको ठुलै व्यक्ति हौ” भनी रेडियो सेट (वाकिटाकी) समेत देखाई डर त्रास देखाई धम्की दिँदै हिडेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ६ शान्तिनगर चोक बस्ने बर्ष ३२ को नारायण गिरी र सप्तरी डाक्लेश्वरी ७ घर भई हाल पोखरा ११ फुलवारी बस्ने बर्ष २१ को बिबेक ठाकुर रहेका छन् ।
उनीहरूलाई रेडियो सेट (वाकिटाकी) थान १ सहित स्थानीय मानिहरुलाई डर त्रास फैलाउदै गरेको अबस्थामा फेलापारी सोधपुछ गरी सम्झाई बुझाई गर्दा उल्टै डिउटीमा खटिएका प्रहरी कार्मचारीलाई समेत अपशब्द बोली गाली गलौज गरी अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्यादथप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको उनले खुलाए ।
