nepal ahile circle final NEW

हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती

हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती

जानकी (बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र छ– एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठूला–ठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् । उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन् ।

स्थानीय सरकार आएपछि आफ्नो गाउँको स्वरुपमा केही परिवर्तन हुन्छ भन्ने आशा पलाएको बताउछन् आशाराम चमार । “अबको समय पहिलाको जस्तो छैन । हामीलाई स्थानीय सरकार बनेपछि केही हुन्छ कि भन्ने ठूलो आशा थियो तर आजसम्म पनि हाम्रो गाउँ जस्ताको त्यस्तै छ ।” आशारामले भने, “हाम्रो गाउँमा आवतजावतका लागि सामान्य बाटो त बन्न सकेको छैन बाँकी अरु विकासको के कुरा गर्नु ?” एकै ठाउँमा गुजुमुज्ज परेको बस्तीमा वडाको ४० प्रतिशत बसोबास रहेको छ ।

किङगरियनपुर्वा बस्तीमा प्रवेश गरेपछि हिँड्ने बाटोबाहेक चौडा बाटो देखिँदैन । उक्त गाउँमा बाटोको समस्याले स्थानीयवासीलाई वर्षौँदेखि सास्ती व्यहोर्नु परिरहेको सायद किङगरियाले बताए । “गाउँघरसम्म ठूला गाडी आउन सक्दैन । बस्तीभित्र साँघुरो हिँड्नेबाहेक अन्य चौडा बाटो छैन”, उनले बताए, “हाम्रो गाउँमा बस्ती बाक्लो छ तर बाटोको समस्याले गाउँमा ठूला सवारीसाधन आउन सक्दैन । गाउँघरमा विवाह भयो भने गाउँबाट टाढै बस, ट्रयाक्टर राख्नुपर्छ ।”

आशाराम र सायदले जस्तै नसिब किङगरियाले पनि आफ्नो गाउँको विकासमा स्थानीय सरकारको ध्यान नजाँदा वर्षौँदेखि सास्ती सहँदै आएको गुनासो गरिन् । नसिबको भनाइअुनसार किङ्गरिया बस्तीमा कसैको घर बनाउनुपर्‍यो भने इँटा, माटो, सरिया, सिमेन्टजस्ता गह्रौँ सामान लैजानपर्‍यो भने गाउँदेखि धेरै परबाट मानिसले काँधमा बोकेर लैजानुपर्छ । बस्तीभित्र सवारीसाधन जानका लागि फराकिलो बाटो नभएकै कारण आफूहरूले वर्षौँदेखि समस्या झेलिरहेको उनले बताए ।

उक्त बस्तीमा कोही बिरामी पर्दा घरसम्म एम्बुलेन्स आउन नसकेको गुनासो गर्दै अर्का स्थानीय रामप्यारी चमारले बाहिर पर बाटोसम्म बिरामीलाई बोकेर लैजानुपर्ने गुनासो गरे । “महिला सुत्केरी हुँदा होस् या वर्षायाममा सर्पले टोक्दा होस् हामीलाई लिन आएको एम्बुलेन्स पनि गाउँभन्दा पर उभिएको हुन्छ”, रामप्यारीले भने, “बस्तीमा न बाटोको सुविधा छ न नालाको नै । बस्तीभरि नै फोहर छ ।” गर्मीयाम सुरु हुनैलाग्दा किङगरियनपुर्वामा भएको फोहरले स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको स्थानीयको भनाइ छ । वर्षायाममा बस्तीभरि पानी जमेर हिँड्न सकिँदैन । उक्त बस्तीमा एम्बुलेन्स, दमकल, ट्रयाक्टर, बस पुग्नु त परको कुरा हो ।

किङगरियनपुर्वमा एक हजार घरधुरी छन् भने वडामा छ–सात हजार जनसङ्ख्या रहेको छ । वडाध्यक्ष अब्दुल गफ्फार हल्वाईले वडाभित्र बाटो चौडा गर्ने योजना बारम्बार ल्याउँदा स्थानीयवासीको असहमतिले बाटो निर्माण हुन नसकेको बताए। “वडाभित्र रहेको बस्तीमा बाटो र सरसफाइलाई पहिलो प्राथामिकतामा राखेका छौँ । किङगरियनपुर्वामा पनि बाटोका लागि पहल नभएको होइन तर यहाँका स्थानीयले बाटोका लागि सहमति नगर्दा निकास खोज्न गाह्रो भएको छ”, वडाध्यक्ष हल्वाईले किङगरियनपुर्वाको विकासका लागि चाँडै नै निकास खोज्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्