अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

  • नेपाल अहिले
  • फागुन १५, २०८०
अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

काठमाडौँ । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।

आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उष्कृष्ट गन्तव्य हो भने ।उनले  लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गरे ।

गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको बताए। उनले लगानीको प्रतिफल बिनाझन्झट स्वदेश फिर्ता गर्न थप नीतिगत सुधार गर्नुपर्ने सुझाव दिए ।

दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले लगानी सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै नेपालमा लगानीको समग्र नीति, कार्यविधि र संरचनागत व्यवस्थासम्बन्धी प्रस्तुति दिएका थिए । उनले लगानी बोर्डले अध्ययन गरिरहेका केही सम्भावित परियोजनाका बारेमा जानकारी पनि गराएका थिए ।

साउदर्न एकेडेमी समूहका प्रमुख कार्यकारी अधिकृत मन केसीले एनआरएनका तर्फबाट नेपालमा लगानीका सम्भाव्य विकल्पका बारेमा उल्लेख गरे ।

© 2026 All Rights Reserved | Nepal Ahile Media