nepal ahile circle final NEW

मादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै, विजेताले ३ लाख पाउने

मादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै, विजेताले ३ लाख पाउने

राजाराम पौडेल, पोखरा । कास्कीको मादी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसर पारेर यहीं फागुन २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । मादी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८५ पालिकालाई सहभागीताको लागि आग्रह गरिने मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले बताए ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछन् । द्धितिय हुने टीमले २ लाख मेडल र प्रमाणपत्र, तृतीय हुने टीमले १ लाख मेडल र प्रमाणपत्र पाउनेछन् । सान्त्वना हुने टीमले ५० हजार रुपैयाँ पाउनेछ भने विभिन्न विधामा उत्कृष्ट बन्नेले समेत पुरस्कार पाउनेछन् । टीम दर्ता शुल्क ७ हजार ५ सय लाग्नेछ । प्रतियोगितामा दुई दर्जन भन्दा बढी टीमको सहभागीता रहने आयोजकको अपेक्षा छ ।

भलिबल प्रतियोगिताका अलावा स्थापना दिवसको अवसरमा गाउँपालिकाको प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रचलित झाँकी, स्थानीय कलाकार, जन प्रतिनिधिको गीत तथा नृत्य समेत रहनेछ ।  पालिकामा रहेका जेष्ठ नागरिकमध्येबाट ग्राम पिता र मातालाई सम्मान समेत गर्ने गाउँपालिकाको तयारी छ ।

जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताका अलावा गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरजवाफ प्रतियोगिता हुनेछ । हाजिर जवाफ प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार रहेको अध्यक्ष गुरुङले जनाए । मादी गाउँपालिकामा ५१ वटा विद्यालय रहेका छन् ।

यसैगरी उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वंमसेविका, कृषक, उपभोक्ता समिति लगायतलाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ । कार्यक्रम सञ्चालन गर्न झण्डै २० लाख खर्च हुने आयोजकको अनुमान छ ।

मादी गाउँकालिकाको याम्जाकोटमा हुने कार्यक्रममा मिलन युवा क्लबले समेत पालिकालाई सघाउनेछ । मादी गाउँपालिकाको याम्जाकोटमा १६ होम स्टे र ३ वटा होटल रहेका छन् । यसका अतिरिक्त्त कार्यक्रममा पुग्ने पाउनाको बसोबास व्यवस्थित बनाउन आमा समुहले समेत सहयोग गर्नेछन् ।

गाउँपालिका स्थापना भएको आठौं वर्षगाठको अवसरमा आयोजित कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको अध्यक्ष गुरुङले बताए । क्षेत्रफलको हिसाबले कास्कीको सबैभन्दा ठुलो गाउँपालिका रहेको मादीमा नेपालको सबैभन्दा कम उचाईमा रहेको कपुचे हिमताल तथा नेपालकै मध्यविन्दु कोरी क्षेत्र समेत पर्दछ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्