अबको पुस्तकबारे सरप्राइज दिन्छु: अमर न्यौपाने

  • नेपाल अहिले
  • फागुन ६, २०८०
अबको पुस्तकबारे सरप्राइज दिन्छु: अमर न्यौपाने

पोखरा । मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक अमर न्यौपानेले नयाँ कृतिबारे सरप्राइज दिने खुलाएका छन् ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा कस्तूरी’ सत्रमा सहजकर्ता भूमीश्वर पौडेलले नयाँ रचनाबारे चासो राखेपछि आफू ‘महत्वपूर्ण काम गर्दा कसैलाई नसुनाउने गरेको’ न्यौपानेले बताए । ‘आफूभित्रै कुनै महत्वपूर्ण काम गरेको छ भने भन्न हुँदो रहिन्छ । मेरो सबैभन्दा नजिकको मान्छेलाई नभनी राखिरहेँ भने त्यसलाई एकदमै चाँडो सक्छु,’ उनले थपे, ‘केही नभनी सरप्राइज दिनु छ, दिन्छु ।’

२०६८ सालको मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक न्यौपानेका पानीको घाम, करोडौं कस्तुरि र गुलाबी उमेर पनि प्रकाशित उपन्यास हुन् । उनको कलिलो मन बाल कथा संग्रह पनि प्रकाशित छ । सत्रमा उनले लेखकका दुई वटा भूमि हुने गरेको र आफूलाई देवघाट प्रिय लाग्ने गरेको सुनाए । ‘दुईटा ठाउँ मानिसका लागि महत्वपूर्ण हुन्छ । एउटा जन्मेको ठाउँ अर्को किताब जन्मेको ठाउँ,’ न्यौपानेले थपे, ‘मातृभूमि भनेजस्तै देवघाट नयाँ शब्द कोरल्दा ‘पुस्तक भूमि’ हो । देवघाट सेतो धर्ती जन्मिएको ठाउँ हो ।’

पात्रको नियन्त्रणमा लेखक र लेखकको नियन्त्रणमा पात्र हुने उनले बताए । आफूलाई अरुले भन्दा फरक शैलीमा लेख्न मन लाग्ने न्यौपानेले सुनाए । हरेक व्यक्तिले एकै तरिकाले भन्दा आफ्नो शैलीले स्थापित गर्नुपर्ने उनको भनाइ छ । ‘एउटा लेखकले जसरी, जुन डिजाइनमा लेख्छ अर्कोले त्यसरी नलेख्नु अझ सुन्दर कुरा हो । अर्कोको अर्कै धारणा होस्,’ न्यौपानेले भने, ‘सिर्जनात्मक कुरा कक्षाको किताबमा पढेजस्तो परीक्षामा त्यस्तै लेख्नुपर्छ भन्ने हुँदैन । सिर्जनात्मक कुरा भोलि नयाँ हुन्छ । हरेक मान्छेले आफ्नो शैलीको रुपमा स्थापित गर्नुपर्छ ।’

पात्रमा आफ्ना विचार मिसाउँदा रचना बलियो हुने उनको दाबी छ । उनी लेखक र पात्रको सम्बन्ध रुखको जरा र जमिनजस्तै भएको टिप्पणी गर्छन् । ‘सूर्यको पृथ्वीसँग सम्बन्ध छ । पृथ्वीको सूर्यसँग सम्बन्ध छ । जराको जमिन अनि जमिनको जरासँग सम्बन्ध छ,’ न्यौपानेले भने, ‘त्यो जरा र जमिनको जस्तो सम्बन्ध छ लेखक र पात्रको त्यस्तै सम्बन्ध छ । जसरी जरा र जमिनको सम्बन्धबाट फल फल्छ त्यो फल भनेको किताब हो ।’

न्यौपानेलाई एकजना दर्शकले प्रश्न सोधिन् – लेखक बन्दा छोरी बिग्रिन्छ कि भन्छन् । अनि आर्थिक अवस्थाको कुरा पनि जोडिन्छ । मैले लेख्दा ठिक हुन्छ कि हुँदैन ?

न्यौपानेले लेखक बन्न तर सिर्जनात्मक हुन सुझाए । ‘सिनेमा लाइनको छोराछोरीहरु सिनेमामै आउँछन किनकि त्यहाँ ग्लामर र पैसा छ । तर हामी कवि–लेखकको छोराछोरी लेखक भएको देखिँदैन,’ उनले भने, ‘यो अर्थसँग जोडिएको विषय हो । सिर्जनात्मक तरिकाले बौलाएर लेख्नुस् । मज्जाले लेख्न सक्नुहुन्छ ।’

© 2026 All Rights Reserved | Nepal Ahile Media