पोखरामा कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण

  • नेपाल अहिले
  • फागुन ३, २०८०
पोखरामा कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण

गण्डकी । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले कांग्रेसले देशको आमूलपरिवर्तनमा विशिष्ट योगदान गरे पनि आम जनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताए । राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उनले स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताए । नेपाली समाजमा कांग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पुर्‍याउनुपर्ने आवश्यकता उनले औँल्याए ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादलाई मूल आदर्शका रुपमा लिँदै स्थापित कांग्रेस स्थापनाका मूलआदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कमजोर बनेको बताए। जनताले अनुभूति गर्ने किसिमको कांग्रेस बनाउनुपर्नेमा उनले जोड दिए । कांग्रेसलाई बलियो बनाउन गण्डकी प्रदेशका तर्फबाट सङ्कल्पपत्र तयार गरिएको उल्लेख गर्दै उनले त्यसलाई महासमितिको बैठकमा प्रस्तुत गरिने बताए।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठलगायतले कांग्रेसलाई आम जनतामाझ पुर्‍याउनका लागि प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । तीन दिनसम्म चल्ने उक्त प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाका पार्टीका उपसभापतिसहित ८८ जना सहभागी रहेका कांग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media