
राजाराम पौडेल, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हेम्जाकोटमा नेपाली फिल्म ‘ईश्वर’को धमाधम छायांकन भइरहेको छ । केही दिनदेखि छायाकंनमा गएको फिल्मको अझै १५ दिन हेम्जाकोटमानै छायाकंन हुने निर्देशक राजु गिरीले बताए । हेम्जाकोटको अलावा पोखरामा समेत फिल्मको छायांकन गर्ने निर्माण पक्षको तयारी छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक गिरीले नै लेखेका हुन् । गाउँमा रहेका युवा धमाधम विदेश पलायन भइरहेको सन्दर्भमा ईश्वर पात्र मार्फत त्यसलाई रोक्दै नयाँ आशाको सञ्चार गर्न खोजिएको उनले खुलाए । व्यवसायीक फिल्म भएकोले फिल्ममा मायाप्रेम, हाँस्य खुराक र द्धन्द समेतलाई उतिकै प्राथमिकता दिन लागिएको छ ।
‘यो गाउँको कथा हो, गाउँमा यस्ता युवाहरु जन्मनुपर्छ जसले देशको मुहार फेर्न सक्छ, गाउँमा भ्रष्टाचार, गलत राजनीति लगायतका कारण युवा पलायन भएको सन्दर्भमा ईश्वर पात्र मार्फत समाजलाई सन्देश छर्ने र युवा पलायन राेक्ने प्रयास हो’ उनले भने । पारिवारिक फिल्म भएको कारण दर्शकको माया पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।
फिल्म दिलमायाबाट निर्देशन क्षेत्रमा हात हालेका गिरीको निर्देशन रहेको ईश्वर २३ औं फिल्म हो ।
यस फिल्मबाट ध्रुब थापाले नायकको रुपमा डेब्यु गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका उनले नेपाली फिल्मी क्षेत्रमा स्थापित हुने लक्ष्यका साथ यो फिल्ममा नायकको रुपमा अभिनय गरेका हुन् ।
थापाका अलावा सुनिल थापा, माओत्से गुरुङ, पृथ्वीराज प्रसाइ, कृष्टि गुरुङ, अनु शाह, रविन्द्र झा, बुद्धि तामाङ, सविन बास्तोला, शिशिर वाङ्देल, गीता अधिकारी, राजेन्द्र केसी लगायतको अभिनय फिल्ममा हेर्न पाइनेछ ।
फिल्म डेढ करोड भन्दा बढीको लगानीमा निर्माण हुन लागेको निर्माण पक्षले खुलाएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको निर्मातामा हरिबहादुर थापा र शंकर गिरी रहेका छन् । पटकथा तथा संवाद भोजराज देवकोटाको रहनेछ ।
संगीत राजेन्द्र बजगाई र बीपी वाग्लेले भर्नेछन् भने कोरियोग्राफीको जिम्मेवारी कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेले पुरा गर्दैछन् । फिल्मलाई रामेश्वर हुँमागाईले खिचिरहेका छन् । द्वन्द्व निर्देशन तर्फ देव महर्जनले आफ्नो मेहनत देखाउँदैछन् ।
फिल्मको अमेरिका, अष्ट्रेलिया र बेलायतमा प्रिमियर गरेर आगामी दशैंको छेको पारेर नेपालमा प्रदर्शन ल्याउने तयारी निर्माण पक्षले गरेको निर्देशक गिरीले खुलाए ।
