nepal ahile circle final NEW

रूपामा अध्यक्षकप खुल्ला भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ५० हजार पाउने

रूपामा अध्यक्षकप खुल्ला भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ५० हजार पाउने

राजाराम पौडेल, पोखरा । कास्कीको रूपा गाउँपालिकाले अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार गर्दै यो खेल तर्फ रुचि बढाउनका लागि गाउँपालिकाले खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता २०८० फागुन २४ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्न लागेको हो ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जनाए अनुसार गाउँपालिकाको स्थापना दिवसको अवसर पारेर यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको तयारी सुरु भैसेकको छ ।

भलिबलतर्फ विजेता हुन सफल टीमले नगद १ लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यसैगरी उपविजेता हुने टीमले ८० हजार रुपैयाँ, तृतीय हुने टीमले ४० हजार रुपैयाँ र सान्त्वना हुने टीमले २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष ओझाले खुलाए ।

विधागत पुरस्कार समेत खेलाडीलाई प्रदान गरिनेछ । बेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र दिइनेछ । बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट स्पाइकर र बेस्ट प्रशिक्षकले जनही २ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

टीम दर्ता फागुन १० गतेबाट फागुन २३ गतेसम्म गर्नुपर्नेछ । टीम दर्ता शुल्क भने लाग्ने छैन । खेल भलिबल खेलको अन्तराष्ट्रिय नियमअनुसार खेलाइनेछ । एउटा टीममा खेलाडी संख्या १२ जना, १ जना टीम प्रशिक्षक र १ जना टीम व्यवस्थापक हुनुपर्नेछ । खेलमा हाल कायम भएका वडाका खेलाडीले मात्र खेल्न पाउनेछन्, सम्बन्धित वडा बाहिरका खेलाडीलाई समावेश गर्न पाइनेछैन । खेल तालिका फागुन २३ गते गोलाप्रथाको माध्यमद्धारा सार्वजनिक गरिनेछ । प्रतियोगितामा ४० टीमको सहभागीता रहने आयोजकको अनुमान रहेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झाँकी प्रदर्शन प्रतियोगिता समेत हुनेछ । झाँकी प्रदर्शनतर्फ प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिनेछ । झाँकीको लागि समुहमा कम्तिमा ३५ जना हुनुपर्नेछ । यसरी समुह बनाउँदा कम्तीमा ५ जना ३० वर्ष भन्दा कम उमेरको हुनपर्ने समेत नियम छ । सदस्य संख्या पुरा भएका यातायात बापत ५ हजार र खाना खाजा बापत २ हजार प्रदान गरिनेछ । माला प्रतियोगितातर्फ प्रथम हुनेलाई ६ हजार, द्धितिय हुनेलाई ४ हजार र तृतीय हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमलाई भव्य बनाउन गाउँपालिका उपप्रमुख लालसुब्बा गुरुङको संयोजकत्वमा मुल आयोजक समिति निर्माण गरिएको छ । जसको सदस्यमा कार्यपालिका सदस्य सबै, राजेन्द्र सुवेदी र सदस्य सचिवमा अशोक परियार रहेका छन् ।

विभिन्न उपसमिति समेत निर्माण गरिएको अध्यक्ष ओझाले खुलाए । भलिबल खेल सञ्चालन उपसमितिको संयोजकमा राम बहादुर गोदार, झाँकी परिचालन तथा यातायात व्यवस्थापन उपसमितिको संयोजकमा मुकुन्द बहादुर वंशी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा नारायण गुरुङ, अतिथि सत्कार उपसमितिको संयोजकमा सरीता सुनार, माला प्रतियोगिता व्यवस्थापन एवं परिचालन उपसमितिको संयोजकमा राजन सुवेदी, खाजा व्यवस्थापन उपसमितिको संयोजकमा दीपेन्द्र गौतम, स्वंयसेवक परिचालन उपसमितिको संयोजकमा राजन खनाल र ताम्रपत्र व्यवस्थापन उपसमितिको संयोजकमा कृष्णराज सुवेदीलाई तोकिएको छ ।

यो वर्ष रूपा रत्न सम्मान २०८० द्धारा गाउँपालिकाका कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकलाई नगद ५ हजार सहित ताम्रपत्र र दोसल्ला सम्मान गर्ने बताइएको छ ।

कार्यक्रमको थप आर्कषणको रुपमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारको सांस्कृतिक प्रस्तुती समेत रहनेछ ।

रुपा गाउँपालिकाले २०७५ सालदेखि स्थापना दिवसको अवसरमा निरन्तर पुरुष भलिवल प्रतियोगिता, झाँकी प्रदर्शन, माला प्रतियोगिता गर्दै आएको अध्यक्ष ओझाले जनाए । रुपा गाउँपालिकाले राष्ट्रिय स्तरका भलिबल, कराँते लगायतका खेलका खेलाडी प्रशिक्षक जन्न्माइसकेको उनले खुलाए ।रुपा गाउँपालिकामा यतिबेला एक वडा एक खेल मैदान केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा निर्माण कार्य सञ्चालन समेत रहेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी बन्न अथवा खेल हेर्नका लागि गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ । यो कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको समेत अध्यक्ष ओझाले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्