nepal ahile circle final NEW

दयारानीलाई दर्शकको उत्साहजनक साथ, ‘माउथ पब्लिसिटी’ मार्फत हलसम्म तानिदै

दयारानीलाई दर्शकको उत्साहजनक साथ, ‘माउथ पब्लिसिटी’ मार्फत हलसम्म तानिदै

राजाराम पौडेल, पोखरा । निर्देशक माओत्से गुरुङलाई दयारानी फिल्म प्रर्दशनमा ल्याउनको लागि निकै दौडधुप गर्नुपर्‍यो । ४ पटकसम्म प्रदर्शन मिति तोकेपनि सर्दै आएको कारण माघ २६ गतेको मिति पनि सर्ने हो कि भन्ने आशंका बाँकी नै थियो । किनकी यो समयमा दयारानीकै मुख्य कलाकार दयाहाङ राईले अभिनय गरेको फिल्म हात्तिछाप समेत प्रदर्शनमा आउदै थियो ।

प्रदर्शन अगाडि पोखरा र काठमाण्डौमा आयोजना गरिएको प्रिमियर सो पश्चात बल्ल फिल्म हलमा चल्नेमा दर्शक समेत विश्वस्त बने । प्रिमियर सो पश्चात आएका यो फिल्म सम्बन्धि जानकारीमुलक सामाग्रीले दर्शकलाई फिल्म हेर्ने उत्सुकता जगाउन सफल बन्यो । फलस्वरुप रिलिज पश्चात फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया पाउन सफल भएको छ ।

निर्देशक गुरुङ फिल्म तयार भएर प्रदर्शन गर्ने तरखर भएदेखि नै भन्ने गर्थे ‘मलाई मेरो फिल्मप्रति विश्वास छ फिल्म प्रदर्शन पश्चात आउने माउथ पब्लिसिटीले दर्शकलाई हलसम्म ल्याउनेछ’ । उनले गरेको विश्वास अनुसार नै दर्शकको माया मिल्न थालेको छ । रिलिज भएको तेस्रो दिनसम्मको दर्शक सहभागीताले त्यसलाई पुष्टी गर्न थालेको छ ।

फिल्मले उपत्यका बाहिर दर्शकको राम्रो साथ पाइरहेको भएपनि उपत्यकामा आशा गरेजस्तो साथ अहिलेसम्म मिल्न नसकेको भएपनि साथ पाउने आशा भने कायमै रहेको निर्देशक गुरुङले बताए ।

‘आज आइतबार पनि भ्याली बाहिर उत्साहजनक नै छ, भ्याली भित्र आश गरे अनुसार देखिएको छैन, सम्भवत मंगलबार र बुधबार बढ्छ की भन्ने आशा छ’ निर्देशक गुरुङले नेपाल अहिलेसँग भने । गुरुङको ‘होमटाउन’ पोखरामा भने दर्शकको अपार माया फिल्मले बटुल्न सफल भएको छ । यसका अलावा विदेशबाट समेत राम्रो प्रतिक्रिया आएको उनले खुलाए । शुक्रबार र शनिबार फिल्म हेर्ने दर्शको भीड लागेपछि आइतबार पोखराको मिडटाउन सिनेमाजले ७ शो र पोखरा सिनेप्लेक्सले ५ शो दिएका छन् ।

फिल्ममा दयाहाङ राई, दीया पुन, बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, श्रृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदि कलाकारको अभिनय रहेको छ । कास्कीको याम्जाकोट र पोखरा आसपास गरेर जम्मा २२ दिनमा छायाकंन सकिएको फिल्मल्ले गुरुङ संस्कृति झल्काएको छ । फिल्म हेर्दा दर्शकले गुरुङ गाउँमा नै पुगेको महशुस गर्न पाउँछन् । फिल्मले उठाएको विषयवस्तुले समेत दर्शकलाई सोच्न बाध्य बनाउँछ ।

यस अगाडि ९ वटा गुरुङ फिल्म निर्देशन गरिसकेका माओत्सेले मुलधारको नेपाली फिल्मको निर्देशकको रुपमा समेत आफ्नो उपस्थिति बलियो बनाएको संकेत गरेका छन् । दयारानी २ समेत बन्ने निश्चित बनेकोले गुरुङलाई अगाडि बढ्न समेत यसले हौसला प्रदान गरेको छ । उनको निर्देशकिय क्षमता फिल्मको पहिलो दृश्यबाटनै बेजोड बन्न सफल भएको छ । जुन दृश्यलेनै सबै फिल्मको विषयवस्तुलाई बिम्बात्मक रुपमा चित्रण गरिदिएको छ । जसका कारण दर्शकलाई कौतुहलता जगाउँछ । १ घण्टा ४० मिनेट अवधिको फिल्मले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाध्न सफल हुन्छ । उत्सुकतामानै फिल्म सकिन्छ ।

नेपाली फिल्मी क्षेत्रमा कलाकारको रुपमा समेत यो फिल्मका निर्देशक माओत्सेको व्यस्तता कायमै छ । अब लेखन तथा निर्देशनमा समेत उनको व्यस्ता थप बढ्ने आशा गर्न सकिन्छ ।

माओत्से गुरुङ फिल्मको ब्यानर तथा बाँसुरी फिल्मकोस्को प्रस्तुतीमा यो फिल्म निर्माण भएको हो । मोहन गुरुङ टिला, न्यू आइटी भेन्चर जापान, किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्य प्रकाश गुरुङले फिल्ममा लगानी गरेका छन् ।

फिल्म नेपालमा मात्र नभएर विदेशमा समेत प्रदर्शनमा आइरहेको छ । विदेशमा फिल्म वितरणको जिम्मा सेभेन सीज इन्टरटेन्मेन्टले पाएको छ । अमेरिकाका विभिन्न २३ वटा थिएटर १ सय ९७ शो र अष्ट्रेलियामा कुल १ सय ८० सो निश्चित भैसकेको छ । बेलायतका सहितका युरोपेली मुलुकका दर्शकले फेब्रुअरी १६ तथा मध्यपूवका दर्शकले फेब्रुअरी १५ बाट यो फिल्म हेर्नपाउने वितरक सेभेन सीज इन्टरटेन्मेन्टले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्