पशुपालनबाट मासिक दुई लाख बचत

  • नेपाल अहिले
  • माघ २८, २०८०
पशुपालनबाट मासिक दुई लाख बचत

|भैसीपालन : फाइल तस्बिर

नवलपुर ।  नवलपुरको कावासोती नगरपालिका–६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहन्छन् । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाएका छन् ।

गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्नुभएका न्यौपाने कावासोती नगरपालिकाको उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि भएका छन् । “छ भैँसीबाट सुरु भएको मेरो व्यावसायिक पशुपालन अहिले २७ वटा भैँसी र गाई भएका छन्”, उनले भने, “मासिक ३५ सय लिटर दूध बिक्री गर्ने गरेको छु ।”

स्नातकसम्मको अध्ययन पूरा गरेएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती–४ मा रहेको सरस्वती माविमा अध्यापन गर्छन् । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको समयमा उहाँले रु ३५ लाखको लगानीबाट पशुपालन सुरु गरेको बताए ।

“बाबुबाजेदेखि गर्दै आएको पेसालाई मैले व्यावसायिक रूप दिएको हुँ । शिक्षण कार्यबाट बचेको समय सदुपयोग भएको छ”, न्यौपानेले भने, “पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि सञ्चालन गरेको छु ।”

पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैँ घटिने गरेका न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिएको छ । बैंकको ऋणबाट सुरु गरेको पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको न्यौपानेले बताए । सबै खर्च कटाएर मासिक रु दुई लाखसम्म बचत हुने उनले जानकारी दिए ।

विद्यालयमा गणित विषय पढाउने न्यौपानेको अहिले दुई वटा परिचय बनेको छ । बिहान साँझ कृषकको रूपमा परिचय बनाएका उनले दिउँसो शिक्षकको रूपमा पहिचान स्थापित भएको छ ।

बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जाने गरेको बताए । “बिहान तीन बजे उठेर गोठमा खटिन्छु । १९ वटा गाईभैँसी अहिले दुहुना छन् । श्रीमती र म मिलेर दुहुनदाहान सकेर दूध बिक्रीका लागि लैजान्छाैँ”, उनले भने, “कावासोती बजारमा दूध डेरी खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँच सय लिटर दूध बिक्री हुने गरेको छ ।”

गाईभैँसीका लागि आवश्यक पर्ने दाना, पराल आफैँले तयार पार्ने गरेको न्यौपानेले बताए । करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको उनको भनाइ थियो । पराल र हरियो घाँस मिलाएर दानापानी व्यवस्थापन गर्ने गरेको न्यौपानेले बताए । पशुपालनमा विगतमा केही समस्या पर्ने गरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उनको भनाइ थियो ।

“मसँगै पशुपालन सुरु गरेका नगरपालिका क्षेत्रका ११ जना युवा साथीहरू यो पेसाबाट पलायन भइसक्नुभयो”, न्यौपानेले भने, “सबै कामदार मात्रै लगाएर पशुपालन गर्छु भन्ने हो भने सफल भइदैन । आफू पनि नियमित काममा खटिने हो भने असफल हुनुपर्दैन ।”

© 2026 All Rights Reserved | Nepal Ahile Media