nepal ahile circle final NEW

‘गोर्खा वारियर’ ले दर्शकका माया पाउने निर्माण पक्षको विश्वास, पोखरामा प्रिमियर सो हुने

‘गोर्खा वारियर’ ले दर्शकका माया पाउने निर्माण पक्षको विश्वास, पोखरामा प्रिमियर सो हुने

राजाराम पौडेल, पोखरा । आगामी फागुन ११ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘गोर्खा वारियर’को टीम पोखरामा आइपुगेको छ । सिनेमाको प्रमोसनको लागि देशदौडाहमा निस्किएको टीमले पोखरामा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्‍यो ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखासँगको समन्वयमा भएको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले लण्डनमा गरिएको प्रिमियर सो पश्चात यो सिनेमाको चर्चा र चासो देश तथा विदेशमा ह्वात्तै बढेको दावी गरे । सिनेमा रिलिज हुनअघि पोखरा, काठमाडौँ र धरानमा प्रिमियर सो समेत गर्ने उनले बताए । धरानमा फागुन ५, पोखरामा फागुन ७ र काठमाडौँमा फागुन ९ गते प्रिमियिर सो गरेर थप प्रचार प्रसार गर्ने योजना बनाएको उनको भनाइ थियो ।

गोर्खा जस्तो विषयवस्तुमा सिनेमा बन्नुपर्छ भनेर पहिल्यैदेखि लाग्ने गरेको भएपनि यसपाली पुरा भएको भन्दै खुशी व्यक्त गरे । सगरमाथा, गौतमबुद्ध र गोर्खाली नेपालको पहिचान भएको कारण यसको प्रचारप्रसार गर्न सहज हुने उनको बुझाइ छ । ‘गोर्खा अन्तर्राष्ट्रिय ब्राण्ड हो, नेपालीहरुको त्याग, बलिदान र मेहनतबाट संसारभर प्रख्यात छ’ उनले भने ।

यो सिनेमाको मुख्य उदेश्य भिजुयल मार्फत संसारलाई गोर्खालीको इतिहास के हो भनेर देखाउनको लागि भएको उनले खुलाए । उनि भन्छन्–‘करिब साढे तीन वर्ष लगाएर यो प्रोजेक्टलाई यहाँसम्म ल्याइएको छ, यसले धेरैं ऐतिहासिक काम गरेको छ।’

लिसेस्ट स्क्वायर लण्डनको आइम्याक्स सिनेवल्डमा ग्राण्ड प्रिमियर भएको कारण सिनेमाको चर्चा चुलिएको दावी उनले गरे । ‘प्रिमियर सो’ मा बेलायतको प्रधानमन्त्री प्रमुख अतिथि बन्ने कार्यक्रम तय भएपनि विशेष कारणबस उपस्थिति नभएपनि शुभकामना सन्देश पत्र पठाएको इतिहासमा नै पहिलोपटक भएको सुनाए । प्रिमियरमा हलिउडका मेकरको उपस्थितीले आफूहरुमा उत्साह थपेको समेत उनले बताए ।

सिनेमा कोरियन भाषामा रिलिज गर्नको लागि समेत कोरियन कम्पनीले ७ वर्षको लागि डिजिटल प्लेटफर्म, थेउरीटिकल र सेटलाइट अधिकार लिएको खुलाएका उनले अमेरिकन कम्पनीले वल्डवाइड प्रदर्शन गर्ने तयारी गरेको बताए । सिनेमा हिन्दी र अंग्रेजी भाषामा समेत तयार हुनेछ ।
यो सिनेमा नेपालीको सान भएको उनको दावी छ । विदेशबाट समेत आएको मागका कारण नेपाली सिनेमालाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन यसले इट्टा थप्ने काम गर्ने विश्वास निर्देशक चाम्सले गरे ।

त्यसोत गोर्खा वारियर आजभन्दा ७०–८० वर्ष अगाडिको कथा हो । गोर्खाली २ सय ९ वर्षको इतिहासमा धेरैं विरताको कथा भएकोमा यो सातौँ पुस्ताको कथा भएको मिलनले सुनाए । नेपाली सिनेमा क्षेत्रमा यो पहिलो जंगल वार मुभी भएको उनको ठोकुवा छ ।

‘सिनेमा १९४९ वरिपरिको कथा हो, जंगल वारमा घटेको घटनालाई पस्किने प्रयास गरेका छौं, विदेशिनु पर्दाको पीडा समेत यसमा देखाउनु खोजिएको छ’ उनले थपे । धेरैं वास्तविक क्यारेक्टरको कथालाई मिलाएर एउटा ढिक्का बनाएर सिनेमा मार्फत देखाइएको उनले सुनाए । सिनेमा छायाकंनको क्रममा पाएका दुःख, अप्ठ्यारो समेत स्मरण गरे ।

अभिनेत्री रेविका गुरुङले इतिहासलाई प्रतिनिधित्व गर्ने सिनेमामा जोडिन पाएको भन्दै खुशी व्यक्त गरिन् । निर्देशक चाम्सले विश्वास गरेर यो क्यारेक्टर दिएको र त्यो आशा आफूले पुरा गरेको दावी उनले गरिन् । सिनेमामा ‘वार’ सँगसगै एउटा गोर्खा सैनिकको परिवारको इमोसन, पीडा र आशा हेर्न पाइने बताइन् ।

७०–८० वर्ष अगाडिको लाइफ कस्तो थियो, नेपाल कस्तो थियो हेर्न पाइने उनको भनाइ थियो । गोर्खा ब्राण्ड भइसकेको र इतिहासमा बनेको सिनेमा भएकोले निर्माणमा समय लागेको उनले बताइन् । सिन्धुली, सोलुखुम्बु, काठमाण्डौंमा छायांकन गरिएको सिनेमा प्राविधिक रुपमा समेत उत्कृष्ट रहेको दावी उनले गरिन् । सिनेमालाई सफलता प्रदान गर्न सबैको साथ आवश्वक रहने उनले बताइन् ।

अभिनेता रितेश चाम्सले गोर्खालीका सयौं नभनिएका कथा मध्येको एक गोर्खा वारियर भएको बताए । ‘मलेसियामा गोर्खाहरुले देखाएको कला कौशलता विरताको कथा हामीले हेर्न पाइन्छ’ उनले भने ।

८० वर्ष अगाडिको नेपालको रहनसहनलाई सुन्दर तरिकाले सिनेमा मार्फत पस्किएको उनले बताए । निर्देशक मिलनकै कारण आफू यहाँ आइपुगेको बताएका उनले  मिलन ‘गड फादर’ भएको बताए । उनले पनि लन्डनमा भएको प्रिमियर निर्माण युनिटको उपलब्धी भएको बताए ।

मिडिया सल्लाहकार डब्बु क्षेत्रीले मिलन चाम्स रिटायर बृटिश आर्मी भएको कारण समेत यो विषयमा सिनेमा बन्न सहज भएको बताए । पाइनर स्टुडियोमा अभिनयमा मास्टर्स गरेका अभिनेता रितेशसँग सम्भावना रहेको खुलाए । अन्य सिनेमा मार्फत समेत निरन्तरता दिन आग्रह गरे ।

इतिहासमा सिनेमा बनेकोले युगौं युगसम्म हेर्न पाउँने उनको भनाई थियो । पुर्खाले भोगेका कथालाई अनुसन्धान गरेर सिनेमा बनेको भन्दै राम्रो चिज बनाउन समय लग्ने गरेको बताए ।

सिनेमामा रितेश र रेविकाको अलावा विजय लामा, शिशिर बाङ्देल, कविता आले, रियर राई, सारा राई, बिरुप घले आदि कलाकारको अभिनय हेर्न पाइन्छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुती र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा सिनेमा निर्माण भएको हो । कार्यकारी निर्मातामा प्रशान्त थापा, निर्मातामा सुमन राई, सुस्मिता वाइवा, राजेन्द्र घिमिरे र सह–निर्मातामा सुरेश राई रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्