nepal ahile circle final NEW

दर्शक तान्दै ‘धनिरामको गोरु’, किसानका वास्तविक पीडा र बाध्यता चित्रण

दर्शक तान्दै ‘धनिरामको गोरु’, किसानका वास्तविक पीडा र बाध्यता चित्रण

राजाराम पौडेल, पोखरा । नेपाली किसानको वास्तविक समस्या र वाध्यता चित्रण गरिएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन भैरहेको छ । माघ १८ गतेबाट मञ्चन सुरु भएको नाटकको कथा केदारनाथ पौडेलले लेखेका हुन् । नाटकमा किसानको पीडा मात्र नभएर उनीहरुको दैनिक जीवनयापनलाई आर्कषक शैलीमा प्रस्तुत गरिएको छ । नाटकका पात्रले अपनाएको जीवनशैली, बोलीचाली, व्यवहार र लवजले दर्शकको ध्यान मात्र खिच्दैन । त्यहीं परिवेशलाई सम्झाउँछ पनि ।

नाटकका मुख्य पात्र धनिरामको घरबाट नाटकको कथा सुरु हुन्छ । साँझको समयमा धनिरामको छोरा पिढीमा बसेर पढिरहेका छन् । धनिरामको श्रीमती भान्सामा काम गर्दै छन् भने आमा पिढीमा बसेर डालोमा मकै छोडाइरहेकी छन् । अचानक बत्ति जान्छ । धनिराम भने घरमा छैनन् । उनी खेत जोत्ने हाते ट्याक्टर किन्नका लागि शहर गएका छन् । केही बेरमा उनी दुईजना छिमेकी सहित ट्याक्टर बोकेर घरमा आइपुग्छन् । त्यो ट्याक्टर ल्याइसकेपछि धनिरामको परिवार र छिमेकको सम्बन्धमा आएका उतार चढावनै नाटकको मुख्य विषयवस्तु हो । त्यसले नाटकलाई सुन्दर मात्र बनाएको छैन सन्देश समेत छर्न सफल भएको छ ।

नेपालका किसानले भोगिरहेका दुःख, पीडा र समस्यालाई आर्कषक शैलीमा पस्कने प्रयास गरिएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीले विस्थापित गर्न थालेपछिका सहजता र अप्ठ्यारा मात्र होइन गरिबका पीडालाई समेत लेखक पौडेलले कथामा बुनेका छन् । पौडेलले प्रायः गरेर लोकशैलीका नाटक लेख्ने गर्दछन् । उनको कथामा मौलिकता पाइन्छ । उनले बुनेको कथालाई जस्ताको तस्तै दर्शकमाझ पुर्‍याउन निर्देशक कपिल शर्माले समेत उतिकै मेहनत गरेका छन् । यो क्षेत्रको लामो अनुभव लिइसकेका शर्माले आफ्नो परिपक्कता नाटक मार्फत पस्कन सफल भएका छन् ।

नाटकमा धनिरामको भूमिकामा दीलप्रसाद गुरुङ, थम्मनेको भूमिकामा विभु प्रसाद भुसाल, धनकुमारीको भूमिकामा साबित्रा पाठक, आँबोइको भूमिकामा ज्योती हमाल, खरिकाको भूमिकामा सितला अधिकारी, राम बहादुरको भूमिकामा सुमन कार्की, चन्दनेको भूमिकामा रामहरी अधिकारी, सितारामको भूमिकामा दिव्य अमृत, खुशीमानको भूमिकामा अर्जुन गुरुङ, धर्मेको भूमिकामा पवन विक, पण्डितको भूमिकामा अभिषेक भुसालले अभिनय गरेका छन् । उनीहरुले गरेको कुराकानी, अपनाएको जीवनशैली, भोगेका पीडा, भएका झै–झगडा समेतको मिश्रणले नाटकलाई आर्कषक बन्न सघाएको छ । नाटक युनिटले गरेको मेहनतका कारण दर्शकलाई १ घण्टा १० मिनेट बितेको पत्तै हुँदैन । सबै पात्रको आफ्नै महत्व रहेको छ । जसलाई प्रष्ट्याउन कलाकार सफल भएका छन् ।

नाटकमा प्रयोग गरिएका सामाग्री समेत नयाँ पुस्ताको लागि सिकाइ बन्न सक्छ । गीतले समेत नाटकलाई थप मजबुत बनाउन सहयोग मात्र गरेको छैन दर्शक तथा कलाकारलाई खुलेर रमाउने अवसर थपेको छ । नाटकको व्यस्थापक जय चापागाई हुन् भने संगीत र प्रकाश परिचालनमा रमेश तिमिल्सना र दीपेन्द्र पौडेलले साथ दिएका छन् । मञ्च परिकल्पना र पोष्टर डिजाइन नाटकका लेखक पौडेलले गरेका हुन् ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको यो नाटक पद्माप्रेम थिएटरको प्रस्तुतिमा तयार भएको हो । नाटक माघ २७ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरन्तर मञ्चन हुने पद्माप्रेम थिएटरले जनाएको छ ।

हरेक दिन साँझ ५ बजे मञ्चन गरिने नाटक शनिबार भने दिउँसो १ बजे समेत हेर्न पाइनेछ । गत भदौ २९ गते विधिवत रुपमा स्थापना भएको पद्माप्रेम थिएटरले पहिलोपटक नाटक मञ्चन गरेको हो । हाम्रै समाजकै कथा भएकाले मञ्चन गर्न खोजिएको अध्यक्ष सावित्रा पाठक सबुले बताइन् । निरन्तर रुपमा पोखराको नाट्य क्षेत्रमा अगाडि बढ्ने लक्ष्यका साथ आफूहरूले संस्था स्थापना गरेरनै क्रियाशिलता बढाउन खोजेको उनको भनाइ छ । नाटक हेरेर प्रतिक्रिया दिन उनको आग्रह छ ।

नाटक हेर्नको लागि ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काट्नुपर्नेहुन्छ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तिरेर नाटक हेर्ने व्यवस्था छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले नाटक हेरेपछि नाटक युनिटले गरेको मेहनतको खुलेर तारिफ गरे । हाम्रै वरिपरि धेरैं महत्वपूर्ण कथाहरु भएको भन्दै त्यसलाई पस्केर प्रस्तुत गर्न सकेमात्र नाट्य क्षेत्रमा दर्शकको चासो र रुचि बढाउन सकिने बताए । पोखरा आसपासका रहेका हरेक समाज तथा जातजातीका विषयवस्तुमा उनीहरुसँग सहकार्य गरेर कथा निर्माण गरेर पस्कने सक्ने हो भने कलासंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रमुख माध्यमका रुपमा नाटकले भूमिका खेल्ने बताए । नाटक धनिरामको गोरुमा लेखक, निर्देशक सहित कलाकारले खोट लगाउने ठाउँ नराखी कुशलतापूर्वक जिम्मेवारी निभाएको आफूलाई महशुस भएको भन्दै प्रंशसा गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्