nepal ahile circle final NEW

बाह्र वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता

पोखरामा माघ ८ देखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता

दोधारा चाँदनी (कञ्चनपुर) । खेलाडी उत्पादनको उर्वर भूमि मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता भएको छ । यहाँ हाल तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ ।

भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका खेलाडी उत्पादनको थलोका रुपमा रहेको कञ्चनपुरमा यसअघि खेलकुद गतिविधि सुनसानजस्तै बनेको थियो । विसं २०६८ मा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका केही खेल कञ्चनपुरमा तथा बाँकी खेल कैलाली र डडेल्धुरामा खेलाइएका थिए । त्यसयता कञ्चनपुरमा राष्ट्रिय प्रतियोगिता हुन नसकेको ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले बताए ।

“छैटौँ राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता भएनन्, कारण खेलाडी र खेलप्रेमी निराश थिए”, उनले भने , “१२ वर्षपछि महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भएपछि यहाँको खेलजगत् निकै उत्साही छ ।” उनले महेन्द्रनगरमा भइरहेको राष्ट्रिय भलिबल प्रतियोगितामा दर्शकको उत्साहले खेलाडीलाई हौसला प्रदान गरेको बताए । “कञ्चनपुरमा खेलकुदको इतिहास हेर्ने हो भने हरेक खेलका खेलाडीहरु यहीँबाट उत्पादन भएका छन्”, उनी भन्छन्, “कञ्चनपुरकै उत्पादन दीपेन्द्र सिंह ऐरीले क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल भएका छन ।”

सातवटा प्रदेश र तीनवटा विभागीय टोली गरी दशवटा टोलीको सहभागिता रहेको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उत्साहपूर्ण छ । प्रतियोगितास्थल खुलामञ्चमा दर्शकले भरिभराउ छ । एक दशक लामो समयपछि यहाँ राष्ट्रिय प्रतियोगिता भएपछि यहाँको खेलजगत् निकै उत्साहित बनेको राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताए । “पछिल्लो दुई दशकयता सुदूरपश्चिमबाट राम्रो खेलाडी उत्पादन भइरहेका छन्,” उनले भने, “यस्ता प्रतियोगिताले खेलाडीहरुको क्षमता निखार्न मद्दत गर्छ ।”

यही‌ं भूमिको प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टोलीबाट खेल यात्रामा सक्रिय छन् । नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम र धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन ।

यहाँ खेलाडीको उर्वर भूमि भए पनि प्रशिक्षक अभाव र पूर्वाधार विकास हुन नसक्नु यहाँका स्थानीय बताउँछन । “भलिबल होस् या क्रिकेट होस् राष्ट्रिय टोली र विभागीय टेलीमा सुदूरपश्चिमकै खेलाडीहरु छन्,” यहाँका स्थानीय नरेश जोशीले भने, “यहाँ खेलका पूर्वाधार निर्माण र राम्रो प्रशिक्षण भए अझै उत्कृट खेलाडी उत्पादन हुन आउन सक्छन् ।”

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्