
राजाराम पौडेल, पोखरा । भारतमा अभिनेत्री मीना कुमारी चर्चामा रहेको बेला नेपाली फिल्मी उद्योगमा अभिनेत्री गौरी मल्लको आगमन भएको हो । मीना विशेषगरी दुखान्त फिल्ममा जीवन्त शैलीमा निभाएको भूमिकाका कारण प्रख्यात बनेकी थिइन् । सोही समयमा नेपाली फिल्म उद्योगमा अवसर पाएकी गौरीको प्रतिभालाई देखेर निर्देशक प्रकाश थापाले भनेका थिए ‘यो नेपालको मीना कुमारी हुन्छे’ । नभन्दै अभिनय यात्राको सुरुवातदेखि अहिलेसम्म गौरीले आफ्नो उपस्थिती दह्रो गरेर राखिरहेकी छन् । उनको यात्रा निरन्तर एकनासले अगाडि बढिरहेको छ । आजसम्म पनि रोकिएको छैन ।
हुनत गौरीको कलाकारिताको यात्रा अभिनयबाट सुरु भएको भने होइन । उनको रुचि समेत अभिनयतर्फ थिएन । उनलाई नाच्न र गाउन मनपर्थ्यो । तर, आज अभिनय उनको मुख्य पेशा बन्न गइरहेको छ । यसरी यात्रा अगाडि बढ्नुको श्रेय उनले अभिनेत्री बसुन्धरा भुसाललाई दिने गर्छिन् । भुसाल लगायतकाको प्रयासले नै फिल्मी उद्योगमा गौरीको आगमन हुन सकेको हो ।
सिनेमा खेल्नको लागि दरखास्त दिनुपर्ने चलन थियो । सिनेमा पनि फाट्टफुट्ट मात्र निर्माण हुने गर्दथे । उनलाई तीनवटा फोटो खिच्न लगाइयो । न्युरोडमा रहेको गार्डेन फोटोमा गएर ब्ल्याक एण्ड ह्वाइट फोटो खिचेर ल्याइन् । फोटो हेर्नासाथ सबैले रिजेक्ट गरे । यस्तो पनि कलाकार हुन्छ पनि भने । कारण के थियो भने त्यतिबेलाको सुरन्दरताको परिभाषा अनुसार अभिनेत्रीको लागि हुनुपर्ने लुक्स उनमा देखिएन । अभिनेत्री हुन सेक्सी देखीनुपर्छ, आर्कषक हुनुपर्छ, बोलीचालीमा पनि एष्ट्रा अडिनरी हुनुपर्छ भन्ने मान्यता त्यतिबेला हाबी थियो ।
अभिनयको लागि एकैदिन थुप्रै निवेदनहरु पर्थे । तर, कलाकार छनोट हुन नसकेपछि कतै राम्रो कलाकार आएका छन् की भनेर स्क्रिन टेष्ट गरेर हेर्ने निधो गरियोे । अब डायलग सहितको अभिनय गर्नुपर्ने भयो । करिष्मा मानन्धर, भरत शर्मा, अर्जुन जंग शाही, प्रकाश अधिकारी समेत अडिसनको लागि पुगेका थिए । उनीहरुको भन्दा गौरीको डायलग लामो थियो । डायलग पढेर स्क्रिन टेष्टको लागि गइन् । डायलग सहितको अभिनय राम्रो भयो । त्यसकै आधारमा उनी छनोट हुन सफल भइन् । यसरी बकाइदा स्क्रिन टेष्ट दिएर गौरीको सिनेमाको अभिनय यात्रा सुरु भएको हो । फिल्म थियो ‘सपना’ । निर्देशक थिए प्रकाश थापा । सोही समयमानै प्रकाश थापाले गौरीलाई नेपालको मिना कुमारी हुन्छे भनेर भनेका हुन् ।
आफ्नो संवाद पढ्ने बानी राम्रो भएको कारण डायलग सहितको अभिनय सहज भएको गौरीको बुझाई छ । पढ्ने शैली राम्रो भएकोले स्कुलमा समेत शिक्षकले एकांकी पढ्न उनलाई लगाउथे । हालसम्म विभिन्न क्यारेक्टर मार्फत भर्सस्टायल कलाकारको छवि बनाएकी गौरीलाई जिस्कीन मनपर्छ । अहिलेपनि जिस्किएर नै उनी कुरा गर्न रुचाउँछिन् ।
उनले नृत्य गरेका तीज र तिहारका गीत सदाबहार हिट छन् । तर, ती गीत छायाकंन गर्दाको समयमा पाएका दुःख भने उनले अहिलेसम्म भुलेकी छैनन् । अहिले गीत हेर्दा वा सुन्दा ती दुःख सम्झन पुग्ने गरेको उनले खुलाईन् ।
तीजको गीत ‘गाउँ स्वर खोलेर’ छायाकंन हुँदा क्लाइमेक्सको सिन र गीत सँगसँगै सुटिङ भएको थियो । ‘घर जलाउने सिन थियो, रातीमा क्लाइमेक्स, दिउँसोमा गीतको काम गर्नुपर्थ्यो, ५, ६ दिन सुत्न पाएका थिएनौ, जहाँ निद्रा लाग्छ त्यही ढल्थ्यौ, तेरो पालो आयो भनेपछि दौडिन्थ्यौ, अहिले त्यो गीत सुन्दा हेर्दा त्यहीं दुःखमा पुग्छु, मेहनतको फल अहिलेसम्म पाइरहेकी छु’ उनले भनिन् ।
अर्को हिट बनेको तिहारको गीत छायाकंनमा समेत उनलाई उस्तै गाह्रो भयो । चाँगुनारायणमा छायाकंन भएको थियो । १०२ डिग्री जोरो आएको समयमा इनारमा खस्नुपर्ने सिनको टेक लिनुपर्ने । एक टिन तेल अनि पानी खन्याएर इनारमा हाम फालेको उनले अझै बिर्सेकी छैनन् ।
स्क्रिन टेष्टमा पहिलो टेक दिएर ओके भएपनि आफ्नो सिनेमा जिन्दगी सुरु भएको उनी सुनाउँछिन् । ‘सिनेमा जिन्दगी पहिलो टेक दिएपछि नै बनेको र त्यो पहिलो टेक नै ओके भएको थियो, त्यतिबेला वानटेक ओके हुने कलाकारलाई मान्ने गरिथ्यो’ उनले भनिन् । वानटेक ओक आर्टिष्ट हो भने भनिनु त्यतिबेला गोरखा दक्षिण बाहु पाएजस्तो हुने गरेको उनको अनुभव गौरीसँग छ ।
उनले बीचमा ‘इस्किया’ फिल्ममा काम गरिन् । सो फिल्म गर्दा पनि वानटेक ओके भयो । ‘त्यहाँपनि यो चिजले अर्थ राख्ने रहेछ, मलाई एकजना मेकअप आर्टिष्ट हेड ड्रेसर दिइएको थियो’ उनले सुनाइन् । मेकअप आर्टिष्टले ‘दोस्रोका पता नै अप्ना आर्टिष्ट वानटेक हे’ भन्ने गरेको अझै भुलेकी छैनन् । ‘संसारमा यस्ता कुरा लागु हुँदा रहेछन्, एउटा सिरिज गरे, त्यो पनि वान टेक भयो,अंग्रेजी भाषामा बनेको सिरिज थियो’ उनले थपिन् ।
रग रगमा अभिनय बाहेक केही छैन भन्ने वान टेक ओके हुने दिनदेखिनै महसुस गरेको उनले खुलाइन् । उमेर सानो भएपनि घर परिवार पाल्ने पेशा यहीं हो भन्ने सोच उनमा आयो । एउटा सिनेमा बनेपछि झण्डै १ वर्ष ग्याप हुन्थ्यो । त्यसरी खाली हुने समयमा डान्स फर्म सिकिन् । विस्तारै सिनेमा बन्न थाले । उनको व्यस्तता बढ्न थाल्यो ।
गौरीलाई गीत भन्दा डाइलग बढी भएको राम्रो सिनको भूमिका गर्न मनलाग्छ । पात्रलाई पात्रको रुपमा लिदैँ पात्र सँग डुब्ने बानी उनको छ । टेलिसिरियल सिहँदरबारमा आफूलाई अनुभव नभएको विषयमा अभिनय गर्नुपर्दा सात दिन स्क्रिप्ट पढ्नु परेको र १० दिन पछि चरित्रलाई आफूभित्र ल्याउने प्रयास गरेको उनले खुलासा गरिन् । ‘म साधारण व्यक्ति, त्यो चरित्रसँग नाता छैन, परिवारमा कोही राजनीतिज्ञ छैन, रुचि छैन, मेरो लागि त्यो कठिन विषयवस्तु, निकै नै गाह्रो’ उनले भनिन् ।
आफ्नो जिन्दगीसँग कुनै गुनासो नभएको बताउने उनले यौ दौडानमा विभिन्न आरोह र अवरोहको सामना गर्नुपरेको छ । जीवन कस्तो बनाउने भन्नै आफ्नै हातमा हुने भन्दै आफूले सधैं हाँसी हाँसी सबै कुराको सामना गर्दै अगाडि बढेको बताइन् ।
कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले आयोजना गरेको सिने संवाद कार्यक्रम अन्तरगतको अनुभव सेसनमा ‘सिनेमा भित्र म, म भित्र सिनेमा’ शिर्षकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा आयोजकले गौरीको नाम लिना साथ एकजना गाउँले वृद्धले भने–‘गौरी पनि आएको रहेछ, बुढो भएको रहेनछिन् ।’ रमाइलो शैलीमा कार्यक्रममा प्रस्तुत भएकी उनले दर्शकको ध्यान तान्न विभिन्न प्रसंगलाई रमाइलो शैलीमा वर्णन गरिन् । सिक्लेसको कार्यक्रममा स्थानीय दर्शकले गरेको माया र चासोले उनको क्रेज घटेको छैन भन्ने देखाएको थियो ।
