
राजाराम पौडेल, पोखरा । अभिनेता भुवन केसीले ‘कुसुमे रुमाल’ सिनेमाको सुटिङ सुरु भैसकेपछि आफ्नो भूमिका मन नपरेर छोड्ने निधाें गरें । ४, ५ सिन सुटिङ भैसकेको थियो । उनलाई भूमिका पावरफुल लागेन । यो कुरा नीर शाहलाई भने । शाहले तिमी अर्को रोल गर तिमीले गर्ने भनेको रोल अरु कसैलाई दिउँला भने ।
अब च्यातिएको दौरा सुरुवाल लगाउनुपर्ने भूमिका निभाउनु पर्नेभयो । सिनेमाको छायांकनको लागि राम्रो–राम्रो सुट, ज्याकेट लिएर गएका भुवनलाई फेरि फसाद पर्यो । फेरि उनले प्रश्नगरे –‘दौरा सुरुवाल च्यातिएको लगाउने, हलो जोत्नुपर्ने नीर दाई यो कसरी गर्ने त?’ उनको प्रश्न खस्न नपाउदै नीरको उत्तर आइहाल्यो ‘मैले भनेको मान तिमी यसैबाट स्टार हुन्छौं’ । त्यतिबेला आफूमा रोल छान्न सक्ने खुबी नभएको भुवन बताउँछन् । ‘रोल छान्न सक्ने बुद्धि मेरो थिएन तर त्यसपछि आँखा चिम्लिएर निर दाइले भनेको मानें’ उनले भने ।
यसरी निर्माण भएको यो सिनेमाले नेपाली सिनेमाको इतिहासमा पहिलोचोटी सिल्भर–जुब्ली मनाउन सफल भयो । यो फिल्म हिट भएपछि प्राइभेट सेक्टरमा फिल्म बन्नेक्रममा तीव्रता आएको थियो । यो सिनेमामा लगाएको दौरा सुरुवाल पनि नीर शाहको भएको बताएका उनले नयाँ दौरासुरुवाल च्यातचुत पारेर पुरानो बनाएर लगाएको खुलासा समेत गरे ।
त्यसोत भुवन आफूले छानेर सिनेमा खेल्ने भएको कारण धेरैं सिनेमा सफल भएको बताउँछन् । ‘जुन पायो त्यहीं सिनेमा हतपति खेल्दीन, विषयवस्तु चित्त बुझ्नुपर्यो’ उनले भने । उनलाई निर्माण टीमले समेत सिनेमा कस्तो बन्छ भन्ने थाहा हुने भएको कारण टीमको बारेमा समेत जानकारी लिने उनको बानी छ । यात्रा सुरु गर्ने समयमा अहिले जस्तो धेरैं सिनेमा नबन्ने र १, २ वटा फिल्म छोड्दा लामो समय खाली समय भएपनि सिनेमा छनोट गरेरनै खेल्ने गरेको सुनाए ।
उगेन छोपेल, तुलसी घिमिरे, विनोद प्रधान, किशोर राना, प्रकाश थापा लगायतका भेट्रान निर्देशकसँग काम गर्न पाउनु त्यसैको प्रतिफल भएको उनले भनाई छ । अझै धेरै सिनेमामा कलाकार बनेरनै काम गर्न बाँकी भएको बताउने उनी राम्रो भूमिका पाएमा काम गर्न तयार छन् । आफ्नो भूमिकालाई न्याय प्रदान गर्न कोशीस जारी राख्ने बताएका उनले आफूले पाएको भूमिकालाई परिपक्क बनाउन सकेको इर्फोट लगाउने गरेको बताउँछन् ।
फिल्म युनिटसँग घुलमिल भएर काम गर्ने आफ्नो बानी समेत रहेको उनले खुलाए । ‘एकदम फ्रेन्डली भएर काम गर्छु, गजक्क पाकेर को–आर्टिष्टसँग नबोलेर म सुपरस्टार हुँ भनेर फुलेर कहिल्यै बस्दिन’ उनले भने । दर्शकले हेर्दा सिने क्षेत्र रमाइलो लागे पनि सिनेमा खेल्दा दुःख मेहनत धेरैं गर्नुपरेको अनुभव उनीसँग छ । आफ्नो क्षमताका कारण पकिस्तानी र बलिउडका कलाकार सँगसमेत अवसर पाएको बताउने उनी अझैपनि सिकिरहेको र राम्रो गर्न कोशीस गरिरेहको बताउँछन् ।
अनावश्यक विषयमा आफूलाई विवादमा ल्याउन खोजिने गरेको दावी गरेका उनले व्यक्तिगत जीवनसँग जोडेर गरिने टिकाटिप्पणी ठिक नहुने तर्क गर्छन् । मिडियाले हुँदै नभएका कुरामा स्क्याण्डल मच्चाउने गरेको आरोप समेत उनले लगाए । पत्रिका बिकाउन, मिडिया चलाउन, युट्युब चलाउन आफूले भन्दै नभनेको र गर्दै नगरेको कुरा समाचार सामाग्रीहरु बनेर आउने गरेको भन्दै आक्रोश पोखे ।
आफूले कोही व्यक्तिलाई गलत दृष्टीले आँखा नलगाउने गरेको दावी गरेका उनले कोही व्यक्ति भुवन केसीले मिस–विहेब गर्यो भन्ने भए ल्याउन चुनौती दिए । ‘आजसम्म जीन्दगीमा मैले मिस–विहेब कसैलाई गरेको भए ल्याउनुहोस्, सबैलाई रेसपेक्ट गर्छु, को–आर्टिष्टलाई झनै रेसपेक्ट गुर्छ’ उनले दावी थियो ।
कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले आयोजना गरेको सिने संवाद कार्यक्रम अन्तरगतको अनुभव सेसनमा ‘सिनेमा भित्र म, म भित्र सिनेमा’ शिर्षकमा बोल्दै यस्तो बताएका हुन् ।
भुवनको कलाकारिताको यात्रा भने गायन क्षेत्रबाट सुरु भएको हो । उनले १० वर्षको उमेरबाट गीत गाउन थालेका थिए । उनी नेपालको म्युजिक भिडियोको पहिलो मोडल समेत हुन् । उनले मोडलिङ गरेको गीत ‘मायालु तिमी’ थियो ।
उनले जीवनरेखा फिल्ममा नायकको लागि दरखास्त हालेका थिए । तर छनोट हुन सकेनन् । ४० वर्षदेखि सिनेमा क्षेत्रमा क्रियाशिल उनको फिल्मी यात्रा जुनी सिनेमाबाट भएको हो । यो सिनेमामा उनी दरखास्त हालेर नै छानिएका थिए । त्यसपछि उनका एकपछि अर्को सिनेमा सफल बनेका थिए ।
