nepal ahile circle final NEW

थारु बस्तीमा माघीको रौनक सुरु

पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

 बाँके । थारु समुदायमा माघी पर्वको रमाइलो सुरु भएको छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारु समुदाय र बस्तीमा रौनक बढाएको छ ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु गाउँमा यतिबेला माघीको रौनक तथा चहलपहल बढेको बाँकेका थारु अगुवा रामदास थारुले बताए । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्दछन् ।

“माघीका अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन्”, उनले भने, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ, माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।” थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेषरुपमा हेरिने गरेको बाँके वैजनाथका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताए ।

माघीलाई थारु समुदायमा आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुनेहुँदा यसले रोचकता बढाएको चौधरीले बताए । “माघी आएसँगै थारु गाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, थारु अगुवा चौधरीले भने, “नयाँपुस्तामा संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।”

माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रुपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघी यी जिल्लामा अझ विशेष महत्वका साथ मनाउने परम्परा छ ।

गाउँका अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन घर सल्लाहलगायतका विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रुपमा पनि थारु समुदायले लिने गरेको राप्ती सोनार गाउँपालिका–३ वैजापुरका थारु अगुवा तुलसीराम थारुले बताए ।

“थारु समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्दछ । अहिले थारु गाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङ्गरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य परिकार निर्माण पूरा गरिएको छ”, उनले भने, “माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवकोसमेत आयोजना हुने गर्दछन् ।”

उनका अनुसार थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ । गाउँभरिका मानिस एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर तापेर रमाइलो गर्दछन् । राति आगो ताप्ने र भालेबासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् ।

नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ । माघीकै अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच नाचिने गरिन्छ । माघी पर्वसँगै थारु संस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान सुरु भएको बाँके वैजनाथ गाउँपालिका–१ च्यामाका गणेश थारुले जानकारी दिए ।

भुवरभवानीमा माघी मेलाको तयारी:

थारु समुदायको मुख्य पर्व माघीका अवसरमा बाँकेको राप्ती सोनारी–३ स्थित भुवरभवानी मन्दिर परिसरमा यही पुस २९ देखि माघको ४ गतेसम्म लाग्ने माघी मेलाको तयारी पूरा भएको छ । वैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघीपर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट भक्तजन पुग्ने गरेको मेलाका संरक्षक एवं वडाध्यक्ष मीनकुमार थारुले जानकारी दिए ।

“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, थारुले भुवरभवानी माघी मेलाबारे भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने गरेको मेलाका संरक्षक एवं राप्ती सोनारी वडा नंं ३ का वडाध्यक्ष थारुले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्