राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैनः रमेश लेखक

  • नेपाल अहिले
  • पौष २६, २०८०
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैनः रमेश लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरु मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन्।

उनले मतदाता प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

एउटा पार्टीका उम्मेदवारहरुले अर्को पार्टीका उम्मेदवारहरु नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरु जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने उनको भनाई थियो  ।

उनले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समितिले बुधवारबाटै काम शुरु गरिसकेको बताए।

पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताए। पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताए । साथै गठबन्धनले सबै जिल्लाहरुमा पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए।

राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति संयोजक समेत रहेका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media