nepal ahile circle final NEW

मित्रमिलन सहकारी ठगी काण्डका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान

मित्रमिलन सहकारी ठगी काण्डका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान

पोखरा ।  मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगी काण्डका प्रतिवादी मुद्दा पुर्पक्षका लागि कारागार कार्यलय कास्की चलान भएका छन् ।

कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलासमा पुष १३ गते पहिलोपटक मुद्दा पेशी चढेको थियो । त्यसपछि हेर्दाहेर्दैमा राखेर बयान र थुनछेक बहस भएको हो । मंगलबार सकिएको थुनछेक बहस पश्चात न्यायाधीश आचार्यले गरेको  आदेश  अनुसार उनीहरु कारागार चलान भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा संचालनमा रहेको  यस सहकारीका संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीहरु मध्ये ६ जना प्रतिवादीहरु पक्राउ गरी अनुसन्धान गरिएकोमा उक्त मुद्दा पुष १२ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा दर्ता भएको थियो ।

कारागार चलान हुनेमा वालिङ ११ धनपुरे स्थायी घर भई कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत वर्ष ५२ का उदय बहादुर पराजुली, नुवाकोट तारकेश्वर गा.पा. वडा नं. १ स्थायी घर भई पोखरा ८ रामघाट बस्ने वर्ष ३५ को गोपाल खनाल, पोखरा १७ विरौटा बस्ने वर्ष ४२ को बुद्धिसागर पौडेल, पोखरा ६ खहरे बस्ने वर्ष ३९ का राजु बराल रहेका छन् ।

यसैगरी स्याङ्जा आधिखोला ४ स्थाई घर भई हाल पोखरा ७ रत्नचोक बस्ने मित्र मिलन सहकारी संस्था लि. पोखराका अध्यक्ष एवं संचालक वर्ष ३२ का रमन पौडेल र पोखरा २३ खोरपाखा स्थायी घर भई हाल पोखरा ११ फुलवारी बस्ने सहकारीका कार्यकारी अधिकृत वर्ष २८ का किरण अधिकारी रहेका छन् । रमण र किरण बैंकिङ कसुर मुद्दामा पुर्पक्षको लागि कारागारमै रहेका थिए ।

कुल ३३ जना प्रतिवादी रहेको मुद्दामा अधिकाशं फरार छन् । सबै प्रतिवादीलाई सहकारी ऐन, २०७४ (दफा १२२ र दफा १२४) अनुसारको कसुर गरेको आरोप लागेको छ ।  फरार प्रतिवादीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बि.क.ले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्