राष्ट्रियसभामा श्रमिकको प्रतिनिधित्वको माग गर्दै सभापति देउवालाई ज्ञापनपत्र

  • नेपाल अहिले
  • पौष १५, २०८०
राष्ट्रियसभामा श्रमिकको प्रतिनिधित्वको माग गर्दै सभापति देउवालाई ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेको हो । युनियनको पदाधिकारी बैकठले नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम सिफारिस गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिए।

नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवी भएका ट्रेड युनियनलगायत पेसागत सङ्गठन र बौद्धिक व्यक्तिबाट उम्मेदवार छनोट गर्न सभापति देउवाको ध्यानाकर्षण गरेको छ ।

भेटमा सभापति देउवाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेदवार छनोट गर्ने बताएका थिए।

© 2026 All Rights Reserved | Nepal Ahile Media